काठमाडौं । नेपालमा वर्षेनी प्लाष्टिकका कच्चा पदार्थ र प्लाष्टिकका सामग्रीको आयात क्रमशः बढ्दो क्रममा रहेको छ । पछिल्लो चार महिनामा १७ अर्ब ७३ करोड ४२ लाख रुपैयाँ मूल्य बराबरको प्लाष्टिक जन्य उत्पादन नेपाल भित्रिएका छन् ।
हरेक वर्ष १५ देखि २० प्रतिशतको हाराहारीमा प्लाष्टिक जन्य उत्पादनको प्रयोग बढी रहेको प्लाष्टिक उत्पादक संघका अध्यक्ष शरद शर्माले जानकारी दिए ।
शर्माका अनुसार सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा ७ औँ स्थानमा प्लाष्टिक तथा प्लाष्टिक जन्य सामग्रीहरु पर्ने गरेका छन् ।
नेपालमा थुप्रै कम्पनीहरुले प्लाष्टिक जन्य सामाग्री उत्पादन गर्दै आएका छन् । तर, यस्ता उद्योगलाई चाहिने कच्चा पदार्थ अन्य देशबाट ल्याउनु परिरहेको छ । विशेषत नेपालमा प्लाष्टिकका भाँडा, झोला, फर्निचर र घरायसी प्रयोजनामा प्रयोग हुने सामग्रीहरु उत्पादन हुने गरेका छन् ।
नेपालले वार्षिक ५० देखि ६० अर्ब रुपैयाँ बराबरका प्लास्टिक तथा प्लाष्टिक जन्य सामग्रीहरु खपत गर्ने गरेको छ । पछिल्लो समय बजारमा माग बढ्दै गएपनि आफ्नो कच्चा पदार्थ नहुँदा र सरकारी नीतिका कारण समस्या भइरहेको व्यवसायीहरुको गुनासो रहेको छ ।
विगतमा ३ सय हाराहारीमा रहेका प्लाष्टिक उद्योग हाल आएर १ सयका हाराहारीमा झरेका छन् ।‘पहिले उद्योगहरु धेरै थिए, उत्पादन पनि धेरै हुन्थ्यो, अहिले उद्योग बन्द हुँदै गए, उत्पादन पनि कम छ,’ शर्माले चाणक्य पोष्टसँग भने ।
प्लाष्टिकका झोला प्रयोगमा सरकारले कडाई गरेसँगै प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योगहरु बन्द हुँदै गएका हुन् । अहिले नेपालमा १ सय ५ वटा प्लाष्टिक सामग्री उत्पादन गर्ने उद्योगहरु संचालनमा रहेका छन् । अहिलेपनि झोला उत्पादन गर्ने कम्पनीको हिस्सा ठूलो रहेको छ ।
आयातको अवस्था
चालू आर्थिक वर्षको ४ महिनामा १७ अर्ब ७३ करोड ४२ लाख रुपैयाँ बराबरका प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ तथा सामग्री आयात भएका छन् ।
उक्त आयातबाट ४ अर्ब ८० करोड रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालू आवको चार महिनामा गतवर्षको सोहि अवधिको तुलनामा आयातमा केही कमि आएको छ ।
गतवर्ष सोहि अवधिमा १८ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको आयात भएको थियो भने राजस्वको रुपमा ४ अर्ब ८४ करोड २२ लाख रुपैयाँ संकलन भएको थियो । संघका अध्यक्ष शर्मा भने प्लाष्टिक कच्चा पदार्थ आयात मूल्यमा घटे पनि परिमाणमा भने बढेको बताउँछन् ।
गत आर्थिक वर्ष २०७५/७६ मा कूल ५२ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको प्लाष्टिक कच्चा पदार्थ तथा त्यसबाट बनेका सामग्रीहरु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । उक्त आयातमा सरकारले १३ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ बराबर राजश्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७४/७५ मा कुल ४४ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ बराबरका प्लाष्टिक कच्चा पदार्थ तथा प्लाष्टिकका सामग्री आयात भएका थिए । सो अवधिमा ११ अर्ब ६१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
कहाँबाट ल्याइन्छ कच्चा पदार्थ
नेपालमा विशेष गरी खाडी मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया, चीन, भारत लगायतका देशबाट प्लाष्टिकका कच्चा पदार्थ तथा प्लाष्टिक जन्य सामग्रीहरु आयात हुने गरेका छन् ।
अध्यक्ष शर्माका अनुसार केहि विचौलियाहरुले भारत तथा चीनबाट अवैध तरिकाले प्लाष्टिक आयात गर्ने गरेको राजस्व छलि हुने गरेको बताए ।
प्लाष्टिकका झोला प्रयोग प्रतिबन्ध
नेपाल सरकारले ४० माइक्रोन भन्दा कम गुणस्तरको प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । संसदको वातावरण संरक्षण समितिले ०७१ भदौमा प्लास्टिक झोला प्रतिबन्ध लगाउन निर्देशन जारी गरेको थियो । त्यसपछि २०७२ साल वैशाख १ गतेबाट कमसल प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाईएको छ ।