५ महिनामा बैंककाे नाफा साढे २८ अर्ब, नबिललाई पछ्याउँदै ग्लोबल, कुनकाे कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर)मा वाणिज्य बैंकहरूले झन्डै साढे २८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिरसम्म २० वटा वाणिज्य बैंकहरूले २८ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।

मंसिर महिनामा मात्रै वाणिज्य बैंकहरूले ७ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत कात्तिकसम्ममा बैंकहरूले कुल २० अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएका थिए भने कात्तिकमा बढेर २८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

बैंकहरूले कात्तिक र मंसिरमा लगातार ७ अर्ब बढी नाफा कमाएका हुन् । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि कर्जाको माग नहुँदा बैंकहरूले उल्लेख्य रूपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् । तर, विगतमा महँगो ब्याजमा कर्जा लगानी गरेकाले अहिले व्यवसाय विस्तार नहुँदा पनि नाफा कमाएका हुन् ।

कात्तिक यता निक्षेपको ब्याजदर लगातार घटेको छ । सोसँगै कर्जाको ब्याज पनि केही घटेको छ । तर, अझै पनि कर्जाको माग दोहोरो अंकमै रहेको र अपेक्षित रूपमा आर्थिक गतिविधि नबढ्दा कर्जाको माग बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ । यद्यपि, पछिल्लो समय नेपाल राष्ट्र बैंकले गरेको नीतिगत सहजत र घट्दो ब्याजदरले कर्जाको माग केही बढ्न थालेको बैंकरहरू बताउँछन् ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ । बैंकहरूसँग साढे ६ खर्ब बढी लगानी योग्य रकम छ । प्रणालीमै पैसा थुप्रिएर बसे पनि कर्जाको माग बढ्न सकेको छैन भने बैंकहरू पनि जोखिम मोलेर लगानी गर्न तयार छैनन् । विगतमा गरिएको कर्जा असुलीमा देखिएको समस्या र बढ्दो खराब कर्जाले बैंकहरू माग भए पनि जोखिमयुक्त क्षेत्रमा कर्जा लगानी गर्न डराइ रहेका छन् ।

चालु आवको ५ महिनामा वाणिज्य बैंकहरूले सवा १ खर्ब मात्रै कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार वर्ष दिनमा ५ खर्ब ६० अर्ब बढी कर्जा लगानी हुनुपर्छ । तर, ४ महिनामा लक्ष्यको करिब २१ प्रतिशत मात्र कर्जा विस्तार गरेको छ ।

पछिल्लो समय सरकार र राष्ट्र बैंकले गरेका नीतिगत लचकताले अर्थतन्त्र केही चलायमान हुन थालेको संकेत देखिएको छ । घट्दो ब्याजदर र आर्थिक गतिविधि बढ्न थालेकाले आगामी दिनमा कर्जाको माग बढ्ने बैंकहरूको अपेक्षा ।

कुन बैंकले कति कमाए ?

मंसिरसम्म २० वाणिज्य बैंकमध्ये १४ बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् भने ३ बैंकले २ अर्ब बढी नाफा कमाएका छन् । जसमा नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । मंसिरसम्म नबिल बैंकले सर्वाधिक २ अर्ब ९६ करोड ९३ लाख लाख रुपैयाँ नाफा कमाएको छ ।

खुद नाफामा ग्लोबलले नबिललाई पछ्याएको छ । यस अवधिमा ग्लोबलले २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ कमाएको छ । मंसिरसम्म नेपाल इन्भेष्टमेन्ट बैंकले पनि २ अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, प्राइम कमर्शियलले १ अर्ब ९२ करोड, एनआइसी एशिया १ अर्ब ८५ करोड, हिमालयन बैंक १ अर्ब ८० करोड, प्रभु बैंक १ अर्ब ४९ करोड, एनएमबी बैंक १ अर्ब ४५ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

त्यस्तै, एभरेष्ट बैंक्ले १ अर्ब ४० करोड, कुमारी १ अर्ब ३० करोड, स्ट्याण्डर्ड चार्टर्ड १ अर्ब २५ करोड, नेपाल बैंक १ अर्ब २१ करोड र सानिमा बैंक १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ ।

मंसिरसम्म ६ बैंकको नाफा भने १ अर्ब रुपैयाँभन्दा कम छ । जसमा सानिमा ८९ करोड, माछापुच्छ्रे ७६ करोड, सिटिजन्स ७४ करोड, नेपाल एसबीआइ ७० करोड, सिद्धार्थ ६२ करोड र कृषि विकास बैंकले सबैभन्दा कम १२ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।

पुसको किस्ताबापत नेपाल एयरलाइन्सले तिर्‍यो ५३ करोड Read Previous

पुसको किस्ताबापत नेपाल एयरलाइन्सले तिर्‍यो ५३ करोड

मेलम्ची खानेपानीको पाँचौं उद्घाटन्, चौबिसै घण्टा पानी उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन Read Next

मेलम्ची खानेपानीको पाँचौं उद्घाटन्, चौबिसै घण्टा पानी उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन