काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः वितरणको उद्घाटन गरेका छन् । सोमबार प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित आफ्नो कार्यालय परिसरबाट पानी वितरणको पुनः उद्घाटन गरेका हुन् ।
मेलम्ची खानेपानी वितरणको उद्घाटन गरिएको यो पाँचौंपटक हो । पहिलो पटक २०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले मेलम्ची खानेपानीको उद्घाटन गरेका थिए ।
त्यसको १ महिना नबित्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको भृकुटीमण्डपबाट मेलम्चीको उद्घाटन गरेकी थिइन् । २०७८ असारमा मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान पुरिएपछि ३ महिना पानी आउनै बन्द भयो । त्यसपछि मर्मत गरेर हरेक हिउँदयाममा उद्घाटन गरिँदै आइएको छ ।
दाहालले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः उद्घाटनपछि प्रधानमन्त्रीले काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने बताए । उनले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए ।
प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे । काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उनले जोड दिए ।
‘काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ,’ प्रधानमन्त्री दाहालले भने ।
आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई पुनःनिर्माण कार्य कार्यान्वयन गरिने तथा हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रैमास सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए ।
उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सैँ घण्टा उपभोक्ता सदस्यको धारामा वितरण गर्ने व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।
‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ,’ प्रधानमन्त्री दाहालले भने । सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा दिलबहादुर गुरुङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने उनले बताए ।