अन्तर्राष्ट्रिय हवाईयात्रु हालसम्मकै धेरै, आन्तरिक भने घटे

काठमाडौं । मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ ।

विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार ४९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो । कुल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । विमानस्थलबाट एक वर्षको अवधिमा अन्तरराष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ जनाले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३०.१८ प्रतिशतले बढी हो । यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा ४.५ प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

महाप्रबन्धक तिवारीले अन्तरराष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कुल यात्रु आगमन पनि बढेको जानकारी दिए । कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।

सन् २०२३ मा अन्तरराष्ट्रिय उडान अवतरण ३१ हजार ४६० (गत वर्षको तुलनामा २९.४० प्रतिशतले) वृद्धि भएको छ । जुन कोभिडअघि सन् २०१८ को भन्दा १०.७६ प्रतिशतले घटेको छ । उक्त अवधिमा कार्गो आवागमन २२ हजार ९४६ टन भएको छ । जुन गत वर्षको तुलनामा १३.९८ प्रतिशतले घटेको छ ।

आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार ३२६ पुगेको छ । जुन गत वर्षको तुलनामा ७.०७ प्रतिशत कम हो । उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार ९८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १०.८७ प्रतिशतले घटेको छ ।

आन्तरिकमा कार्गो आगमन गत वर्षको तुलनामा १०.३६ प्रतिशतले वृद्धि भई ३ हजार ४२६.८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ ९ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन्भने अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् ।

नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक गत मङ्सिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।

'डबल ए प्लस' रेटिङ पाएको विद्युत् प्राधिकरणले ६० अर्बको आइपीओ ल्याउँदै, प्रतिकित्ता मूल्य कति ? Read Previous

'डबल ए प्लस' रेटिङ पाएको विद्युत् प्राधिकरणले ६० अर्बको आइपीओ ल्याउँदै, प्रतिकित्ता मूल्य कति ?

आज १४ कम्पनीको लाभांश पारित हुँदै, कुनको कति ? Read Next

आज १४ कम्पनीको लाभांश पारित हुँदै, कुनको कति ?