काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स आप्रवाहमा उल्लेख्य सुधार भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको पाँच महिना (मंसिर)सम्मको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्र बैंकका अनुसार चालु वर्षको मंसिर मसान्तसम्म कुल ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । औसतमा चालु वर्षमा हरेक महिना १ खर्ब ५ अर्ब विप्रेषण नेपाल भित्रिएको छ ।
चालु आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा घटे पनि अघिल्लो वर्षमा ७ लाख बढी विदेशिएकाले रेमिट्यान्स आप्रवाह बढेको हो । साथै, वैधानिक तवरबाटै विप्रेषण भित्रने क्रम पनि बढेकाले आप्रवाहमा सुधार देखिएको हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ जना रहेका छन् ।
गत वर्षको सोही अवधिमा यस्तो नयाँ श्रम स्वीकृति लिने २ लाख ३६ हजार ७७९ र पुनः स्वीकृति लिने १ लाख १५ हजार ९४८ जना रहेका थिए ।