काठमाडौं । निक्षेपको ब्याजदर लगातार ओरालो लागेको छ । चालु आवको असोजदेखि घट्न थालेको निक्षेपको ब्याजदर माघमा पनि थप घट्ने देखिएको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायम हुँदा र कर्जाको माग नबढ्दा बैंकहरू महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउनै पर्ने दबाबमा परेका हुन् । सरकार र नेपाल राष्ट्र बैंकले नीतिगत सहजता गर्दा पनि अपेक्षित रुपमा कर्जाको माग नबढेपछि बैंकहरू आफ्नो लागत घटाउन निक्षेपको ब्याजदर थप घटाउनु पर्ने बाध्यतामा परेका हुन् ।
एकातिर बैंकमा पैसा थुप्रिरहेको छ भने अर्कोतर्फ कर्जाको माग बढ्न सकेको छैन । विगतमा महँगोमा उठाएको निक्षेपले बैंकहरूका लागत बढाएको छ ।
एक वर्ष अघि औसतमा ११ प्रतिशत माथि पुगेको निक्षेपको अहिले ९ प्रतिशत तल झरिसकेका छ । अधिकांश बैंकहरूले चालु वर्षको असोज यता महिनै पिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । ब्याजदर घटाउँदा पनि निक्षेप थपिरहेन तर कर्जाको माग नबेकाले माघमा पनि निक्षेपको ब्याजदर घटाउने तयारी गरेको बैंकरहरू बताउँछन् ।
एनआइसी एशिया बैंकले माघ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाइसकेको छ भने अन्य बैंकहरूले पनि घटाउनै पर्ने देखिन्छ । पूँजीकोषको दबाब रहेका केही बाहेक अधिकांश बैंकले माघमा पनि ब्याजदर घटाउने तयारीमा छन् ।
ब्याजदर घटाउँदा पनि कर्जाको माग नबढेकाले बैंकको लागत कम गर्न माघमा पनि ब्याजदर घटाउनै पर्ने दबाब रहेको एक वाणिज्य बैंकका सीईओले बताए । ‘बैंकमा पैसा थुप्रिएको थुप्रियै छ । कर्जा लगानीमा राष्ट्र बैंकले पनि लचकता अपनाएको छ,’ उनले भने, ‘तर, अपेक्षित रुपमा कर्जाको माग बढ्न सकेको छैन । कर्जाको माग बढाउन र लागत घटाउन पनि निक्षेपको ब्याज अझै घटाउनै पर्ने देखिन्छ ।’
पछिल्लो समय सेयर, अटो, व्यक्तिगत घर कर्जाको माग केही बढे पनि अन्य क्षेत्रमा ऋणको माग बढ्न नसकेको उनले बताए । ‘अहिले केही क्षेत्रमा कर्जाको माग थोरै बढेको छ । समग्रमा बढेको छैन,’ उनले भने, ‘ कर्जाको माग आए पनि जोखिम मोलेर लगानी गर्नसक्ने अवस्था छैन । कर्जा असुलीमा देखिएको समस्याले सबैलाई तर्साएको छ । यस्तोमा निक्षेपको ब्याजदर घटाइ लागत कम गर्नुको विकल्प छैन ।’
यस्तै, राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फट नीतिगत दरहरु घटाउँदै ब्याजदर घटाउन सहजीकरण गरिदिएको छ । राष्ट्र बैंकले बैंकदर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगतदर ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोलदर ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झारेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब बढी लगानी योग्य रकम (तरलता) छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल झरेका छ । पछिल्लो तथ्यांक अनुसार सीडी रेसियो ७९.९६ प्रतिशमा झरेको छ । जबकी राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशतसम्म तोकेको छ ।
पछिल्लो समय औसतमा दैनिक ३ अर्ब बढी निक्षेप थपिरहेको छ । तर, सोही अनुपातमा कर्जा लगानी हुन नसक्दा निक्षेप बैंक र राष्ट्र बैंक दुवैको टाउको दुखाइ बनेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले दैनिक जसो निक्षेप संकलन माध्यमबाट तरलता खिचिरहनु परेको छ ।
६ महिना अघिसम्म ७ प्रतिशत पुगेको अन्तर बैंक ब्याजदर अधिक तरलता कारण अहिले ३ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूले निक्षेपको ब्यादर घटाएसँगै आगामी दिनमा कर्जाको ब्याजदर पनि थप सस्तिने छ । राष्ट्र बैंकले पछिल्लो समय महिनैपिच्छे कर्जाको पनि ब्याजदर घटाउन सक्ने व्यवस्था गरेको छ ।