काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत् कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
निर्माण अवधिको ब्याजसहित रु १० अर्ब ५७ करोड अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपूँजी (इक्विटी)बाट लगानी जुटाइएको हो ।
एनएमबी बैङ्क र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) को सहवित्तीयकरणमार्फत् आयोजनामा निर्माण अवधिको ब्याजसहित रु ७ अर्ब ४० करोड ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये एनएमबी बैंकको रु ४ अर्ब ४० करोड र एचआइडीसीएलको रु ३ अर्ब रहनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आयोजनाको प्रवद्र्धक मोदी जलविद्युत् कम्पनी लिमिटेड, एनएएमबी बैंक र एचआइडीसीएलबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यस अवसरमा मन्त्री बस्नेतले देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउने र बचत भएको विद्युत् भारत तथा बङ्गलादेशलाई बिक्री गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।
मन्त्री बस्नेतले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा निर्यात सुनिश्चित भएकाले अहिले उत्पादन तथा आन्तरिक खपतवृद्धि र निर्यातलाई विशेष ध्यान दिई काम अगाडि बढाइएको बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक एवं मोदी जलविद्युत् कम्पनीका अध्यक्ष कुलमान घिसिङले आगामी दिनमा नेपालको जलविद्युत् विकासले फड्को मार्ने बताए ।
‘प्राधिकरण अब ठूला जलविद्यूत् आयोजनाको निर्माणमा अगाडि बढ्दैछ । सन् २०२४ भित्रमा १ हजार ६१ मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरण र त्यसका सहायक कम्पनीमार्फत करिब १६ हजार मेगावाट विद्युत उत्पादनका आयोजना अध्ययन, निर्माण र लगानी जुटाएर निर्माणमा जाने चरणमा छन् ।’
एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले विद्युत् उत्पादन आयोजना निर्धारित समयमा समयमा पूरा हुँदैनन् भन्ने भाष्य असत्य साबित गर्नेतर्फ निर्माता र प्रवद्र्धकहरु लाग्नुपर्नेमा जोड दिए । उनले सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्यलाई पूरा गर्न आवश्यक पर्ने रकम जोहो गर्न कम्पनी तयार रहेको बताए ।
माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको ४ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् । आयोजनाको प्योकज-१ अन्तर्गत सिभिल तथा हाइड्रोमेकानिकल काम गर्न बोलपत्र आह्वान गरी बोलपत्रदाताले पेस गरेको प्राविधिक प्रस्ताव मूल्याङ्कनको अन्तिम चरणमा छ ।
आयोजनाको साइट कार्यालय तथा आवसगृह निर्माण भइरहेको छ । निजी जग्गा अधिग्रहण तथा वन क्षेत्रको जग्गा प्रयोगको स्वीकृति भइसकेको छ । आयोजनाको निर्माण सुपरीवेक्षण परामर्शदाताका लागि एनइए इन्जिनियरिङ कम्पनसँग सम्झौता भइसकेको छ । कम्पनीले १८.२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाकोसमेत निर्माण गर्ने छ ।