‘भविष्य खोज्दै’ १ वर्षमा विदेशिए झन्डै ११ लाख नेपाली, टीआर र पीआर लिने मात्रै १.६३ लाख

काठमाडौं । देशमा रोजगारीको अवसर नपाउँदा र भविष्य सुरक्षित नदेखेपछि १ वर्षमै १० लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२३ मा वैदेशिक रोजगारी, अध्ययन र बसाइँसराइ गरेर कुल १० लाख ८० हजार २२१ जना विदेशिएका हुन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२३ मा कुल ८ लाख ८ हजार ४१५ जना वैदेशिक रोजगारीमा गएका हुन् । विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमा पुरुष ७ लाख २३ हजार ७८९ जना र महिला ८४ हजार ६०४ जना रहेका छन् ।

विभागको तथ्यांक अनुसार सन् २०२३ मा मासिक औसतमा ६७ हजार ३६८ जना अर्थात् दैनिक २ हजार २१५ जना वैदेशिक रोजगारीमा गएका हुन् ।

त्यस्तै, गत वर्ष वैदेशिक अध्यनका लागि १ लाख ८ हजार ५४२ जना नेपाल छाडेर गएका छन् । जसमा ५९ हजार ९७८ जना र महिला ४८ हजार ५६२ जना रहेका छन् ।

त्यस्तै, यस वर्ष १ लाख ६३ हजार बढीले नेपालबाट बसाइँसराइँ गरेका छन् । विभागका अनुसार ९२ हजार ३४९ जनाले अस्थायी (टीआर) र ७० हजार ९१५ जनाले स्थायी (पीआर) बसाइँसराइँ गरेका हुन् ।

१ वर्षमा १६ लाख गए विदेश

विभागका अनुसार सन् २०२३ मा विभिन्न प्रयोजनका लागि १६ लाखभन्दा बढी नेपालीमा विदेश गएका छन् । यो वर्ष कुल १६ लाख ३ हजार ८३६ नेपाली विदेशिएका हुन् । जसमा ११ लाख ७१ हजार १८६ जना पुरुष र ४ लाख ३२ हजार ५८४ जना महिला रहेका छन् ।

जसमा सबैभन्दा धेरै ८ लाख ८ हजार ४१४ वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै, विदेश घुम्न २ लाख ४ हजार ५१८, पारिवारिक भेटघाटका लागि १ लाख ६७ हजार, ४८५ जना र अध्ययनका लागि १ लाख ८ हजार ५४२ जना विदेशएिका छन् ।

यी हुन् धेरै नेपाली जाने देश

सन् २०२३ मा नेपालीहरू विश्वका २२२ मुलुकमा पुगेको छन् । जसमा संयुक्त अरब इमिरेट्स (यूएई) नेपालीको पहिलो रोजाइमा परेको छ । मुख्यगरी वैदेशिक रोजगारी र भ्रमणका लागि नेपालीहरू यूएई गएका हुन् । विभागका अनुसार २०२३ मा २ लाख ७१ हजार ८८ जना नेपाली पुगेका छन् ।

यस्तै, दोस्रो धेरै जानेमा भारत रहेको छ । भारतमा १ लाख ८० हजार ६०२ जना गएका छन् । त्यसैगरी, १ लाख ७९ हजार ४४१ जना कतार, १ लाख ६५ हजार २०१ जना मलेसिया र १ लाख ३६ हजार २०३ जना साउदी अरब गएका छन् । यी देशमा जाने अधिकांश नेपाली वैदेशिक रोजगारीका लागि गएका हुन् ।

खाडी मुलुक मात्र नभई नेपालीको प्रमुख गन्तव्य विकसित देशहरू पनि पर्न थालेका छन् । सन् २०२३ मा अस्ट्रेलिया, जापान, अमेरिका, वेलायत नेपालीको प्रमुख १० गन्तव्य मुलुक बनेका छन् । यस वर्ष १ लाख ५ हजार ३४३ अस्ट्रेलिया, ८२ हजार ७७२ जापान, ६७ हजार ८१० अमेरिकार र ५३ हजार ४०१ नेपाली बेलायत गएका छन् ।

 

श्रमिकलाई आर्थिक बोझ नथप्न प्रधानमन्त्रीको निर्देशन Read Previous

श्रमिकलाई आर्थिक बोझ नथप्न प्रधानमन्त्रीको निर्देशन

५ स्वादका ज्ञान मसला बजारमा Read Next

५ स्वादका ज्ञान मसला बजारमा