काठमाडौं महानगरमा बढे करदाता, ५ महिनामा तिरे २ अर्ब ६६ करोड कर

काठमाडौं । मंसिर मसान्तसम्ममा काठमाडौँ महानगरपालिकामा १ लाख १९ हजार ४५९ जना करदाताले कर तिरेका छन् । यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ ।

यसमा ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता छन् । यस वर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० हो । गएको आर्थिक वर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक वर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ । सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका हुन् ।

गत वर्ष (आव २०७९/८०) मा ३ लाख २४ हजार १२० जना करदाता थिए । उनीहरुमध्ये आर्थिक वर्षभरिमा १ लाख ९१ हजार ८८६ जनाले कर तिरे । १ लाख ३२ हजार २३४ कर नतिर्ने करदाताको संख्या हो ।

चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक आय, बाँडफाँडबाट प्राप्त राजस्व र समानीकरण, सशर्तजस्ता आन्तरिक अनुदानबाट प्राप्त गरी ४ अर्ब ५१ करोड ५२ लाख ८१ हजार ९४७ रुपैयाँ जम्मा भएको छ । यो लक्ष्यको ४१.७८ प्रतिशत हो ।

समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, पुस मसान्तभित्र दिइएको छुटका बारेमा करदातालाई जानकारी दिएर सुविधामा पहुँच पुर्याउन विभागलाई आग्रह गरिन् । ‘परिचय पाटीको आकार प्रकार र त्यसमा लगाइने शुल्कका विषयमा समय समयमा प्रश्न उठ्ने गरेको छन् । यी सवालहरु किन आएरहेका हुन्, साझेदारको भनाइ के छ, छलफल गरेर सुझाव लिनू ,’ डंगोलले विभागलाई जिम्मेवारी दिइन् ।

बैठकमा बहाल कर संकलनका विषयमा छलफल गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट पालिकाले मात्र यो कर उठाउन पाउने विषयमा भएको निर्णय कार्यान्वयनका लागि पुनः पत्राचार गर्न शिफारिस गर्ने निर्णय भएको छ । यस अघि महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेपालको संविधान २०७२ को अनुसूची ८ को क्रमसंख्या ४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३ अनुसूची ३ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५७ को व्यवस्थाबमोजिम बहाल कर संकलन गर्ने पालिकाको मात्र अधिकार रहेको उल्लेख गर्दै संघ सरकारबाट संकलन हुँदै गरेको यस शीर्षकको कर स्थानीय सरकारबाट उठाउने प्रबन्धका लागि पत्राचार गरेका थिए ।

यसपछि आयोगले गएको असार १८ गते यस विषयमा निर्णय गर्दै करदातालाई दोहोरो कर नपर्ने गरी स्थानीय सरकारबाट मात्र संकलन हुने प्रबन्धका लागि अर्थ मन्त्रालयमार्फत लेखी पठाउने भनेको थियो । बहाल कर सम्बन्धी यस व्यवस्था कार्यान्वयनका सम्बन्धमा सरकारबाट कुनै पनि जानकारी नआएकोले ध्यानाकर्षणका लागि पुनः पत्राचार गर्ने निर्णय भएको हो ।

पासाङल्हामु राजमार्गको १ वर्ष भित्रै ठेक्का लगाइने, १.३३ अर्ब बजेट स्रोत सुनिश्चित Read Previous

पासाङल्हामु राजमार्गको १ वर्ष भित्रै ठेक्का लगाइने, १.३३ अर्ब बजेट स्रोत सुनिश्चित

हिमालयन रिको सेयर किन्न लगानीकर्ताकाे 'मरिहत्ते', ४३ लाख कित्ता माग हुँदा बेच्ने शून्य Read Next

हिमालयन रिको सेयर किन्न लगानीकर्ताकाे 'मरिहत्ते', ४३ लाख कित्ता माग हुँदा बेच्ने शून्य