काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर खरिदका लागि उच्च माग देखिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार (१२:१० बजेसम्म) कम्पनीको ४३ लाख बढी कित्ता सेयर खरिदका लागि माग गरेका छन् । तर, बिक्रीकर्ता भने न्यून रहेको छन् । सो बेलासम्मा कम्पनीको जम्मा ४६२० कित्ता सेयर बिक्री भएको छ । सोमबार पनि कम्पनीको २९ लाख बढी कित्ता खरिदका लागि माग भएकोमा ३० हजार ८६० कित्ता मात्रै कारोबार भएको थियो ।
कारोबार खुलेका सुरुआती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, बिक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।
हिजोदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा लागातार दोस्रो दिन पोजेटिभ सर्किट लागेको छ । दुई दिनमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४.९० रुपैयाँ बढेर ३७४.१ रुपैयाँ पुगेको छ ।
हिमालयन रि नेपालको दोस्रो पुनर्बीमा कम्पनी हो भने निजी क्षेत्रको लगानीको एकमात्र कम्पनी हो । यसअघि सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार नजिक पुगेको थियो भने अहिले ७०० रुपैयाँ हाराहारीमा छ । हिमालयन रिको सेयर मूल्य पनि नेपाल पुनर्बीमाकै हाराहारीमा पुग्ने हल्लाले खेयर खरिदका लागि उच्च माग आएको हो ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म प्रतिकित्ता २०६ रुपैयाँ (प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर)दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा १५ लाख ६४ हजार ५६४ जनाले न्यूनतम १० देखि ४० कित्तासम्म सेयर पाएका थिए ।
हिमालयन रि नेपाली सेयर बजार इतिहासमै दोस्रो ठूलो आइपीओ ल्याउने कम्पनी समेत हो । कुल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीमा संस्थापकको ७ अर्ब र सर्वसाधरणको ३ अर्ब रुपैयाँ लगानी रहेको छ ।