पासाङल्हामु राजमार्गको १ वर्ष भित्रै ठेक्का लगाइने, १.३३ अर्ब बजेट स्रोत सुनिश्चित

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटलाई काठमाडौँसँग जोड्ने पासाङल्हामु राजमार्गको स्तरोन्नति प्रक्रिया चाँडै अघि बढ्ने बताएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो सडकको स्तरोन्नतिका क्रममा जीर्ण भएको सडक एक वर्षभित्र चरणबद्ध रुपमा ठेक्का लगाइसक्ने प्रतिबद्धता जनाए ।

त्रिशूलीदेखि ककनी हुँदै बालाजु जोड्ने ७२ किलोमिटर सडकको काठमाडौँतर्फ निर्माण सम्पन्न भइसकेकाले नुवाकोटतर्फको सडकलाई दुई चरणमा ठेक्का लगाउन लागिएको उनको भनाइ छ ।

‘काठमाडौंको तीनपिप्लेदेखि नुवाकोटको ककनीसम्म रु १ अर्ब ३३ करोड बजेट सुनिश्चित गरेर बहुवर्षीय ठेक्का लगाइसकेको छ,’ अर्थमन्त्री महतले भनेयो, ‘ककनीदेखि पीपलटारसम्मको सडक यसअघिको ठेक्काबाट बच्ने रकममा सम्बोधन हुनसक्छ । त्यसो नभए आगामी आर्थिक वर्षको बजेट छुट्याएर काम सुरु हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।’

विसंं २०१८ मा विस्तार भएको नुवाकोट र रसुवा जोड्ने पासाङल्हामु राजमार्ग विसं २०७१ मा एक लेनबाट दुई लेन बनाउनका लागि ठेक्का लगाइएको थियो ।

उक्त समयमा यसअघि गरिएको कालोपत्र खनेपश्चात् निर्माण व्यवसायीले काम नगरेपछि सरकारले ठेक्का तोडेको थियो । सञ्चालन अवस्थामा रहेको सडक स्तरोन्नतिका लागि जीर्ण बनाएसँगै पछिल्लो एक दशकदेखि यस सडकमा आउजाउ गर्न समस्या भएको थियो ।

धरानमा औद्योगिक ग्राम निर्माण गर्न व्यवसायीको माग Read Previous

धरानमा औद्योगिक ग्राम निर्माण गर्न व्यवसायीको माग

काठमाडौं महानगरमा बढे करदाता, ५ महिनामा तिरे २ अर्ब ६६ करोड कर Read Next

काठमाडौं महानगरमा बढे करदाता, ५ महिनामा तिरे २ अर्ब ६६ करोड कर