नेपालले ‘साग’मा शून्य पदक जित्नेछ

दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करण नेपालमा शुरु भएको छ । यसै मेसोमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको पदमा रहेका रमेश सिलवाल नाम गरेका सज्जनले नेपालले यसपाली ५० वटा स्वर्ण पदक जित्ने दाबी गरेका छन् ।

 

यो दाबी गर्नुका पछाडि नेपालको खेलकुद प्रशासनमा कुनै आधारभूत परिर्वतन भएको कारण विद्यमान छैन । उनी खेलकुद परिषद्को सदस्य सचिव पदमा वहाली भएका छन् । त्यत्ति हो ।

 

सिलवालजीले नेपालले यो पटकको दक्षिण एसिायली खेलकुदमा ५० वटा स्वर्ण जित्ने दाबी गर्नुका पछाडि यस्तो कारण पेश गरेका छन्, ‘सन् १९९९ मा नेपालले आयोजना गरेको सार्क खेलकुदमा २८ वटा स्वर्ण पदक जितेको थियो । अहिले त प्रतियोगितामा खेल संख्या पनि बढेको छ । ५० वटा स्वर्ण सजिलै जितिन्छ ।’

 

नेपालले एउटा पनि स्वर्ण पदक जित्ने छैन । र, स्वर्ण मात्र होइन, एउटा पनि कास्य वा रजत पदक पनि जित्ने छैन नेपालले । पदक तालिकामा नेपाल राज्यको पदक संख्या शून्य हुनेछ । फगत शून्य ।

 

मिस्टर सिलवाल भन्दा अगाडि बिष्ट थर गरेका अर्का एक जना सज्जनले यो पद ओगटेका थिए । उनले आफ्नो र आफ्ना पार्टीका ‘बोस’हरुको गोजी गह्रौं पारे भन्ने गाईंगुईं छ सहरमा । उनकै पालामा नेपालका केही महिला खेलाडीहरुले दालमोठ चिउरा हो वा चाउचाउ चिउरा खाएर प्रशिक्षण गरिरहेको फोटो प्रकाशित गरेको थियो, नेपालको प्रतिष्ठित दैनिक पत्रिकाले ।

 

बाजी नै पर्‍यो !

 

सिलवालजीले बिना कुनै आधार सामान्यजनको सहज बुुद्धि माथि समेत प्रहार गर्ने गरि हावादारी दाबी गरेपछि मेरो दिमाग रन्थनियो र फ्याट्टै भने, ‘बढीमा ३ वटा स्वर्ण जित्छ नेपालले’ । सँगै खाजा खाँदै गरेका सहकर्मी दाजुको नेपाली खेलकुद प्रतिको सहज प्राविधिक ज्ञानले आफ्नो फँडा फैलायो र भन्यो, ‘१५ वटा कम्तिमा जित्छ’ ।

 

अन्तिम नतिजा जसको दाबीको नजिक पुग्छ उसैले जित्छ भन्ने निष्कर्षमा बहसको अन्त्य भयो । जित्नेले के जित्ने र हार्नेले के हार्ने भन्ने टुङ्गो भने अझै लागेको छैन ।

 

यसै बीच मेरो यो बाजीमा सानो संशोधन छ, नेपालले ३ वटा होइन, एउटा पनि स्वर्ण पदक जित्ने छैन । र, स्वर्ण मात्र होइन, एउटा पनि कास्य वा रजत पदक पनि जित्ने छैन नेपालले । पदक तालिकामा नेपाल राज्यको पदक संख्या शून्य हुनेछ । फगत शून्य ।

 

आफ्नै कुरा

 

काठमाडौंको ‘नाइन्टिज् किड’ (सन् १९९० को दशकमा काठमाडौंमा हुर्कँदै गरेको) हुँ म । त्यसैले नेपाली फुटबलको उत्तराद्र्ध र मृत्युसैयाको यात्रा नजिकबाट नियाल्ने मौका मिल्यो ।

 

केटाकेटी बेला स्कुल पढ्दै गर्दा हरि खड्कासँग लोभिन्थ्यौं हामी । भकुण्डोको वरिपरी दुवै खुट्टा घुमाएर विपक्षीलाई छक्याउँदै अगाडि बढ्थे उनी । ठ्याक्कै त्यतिबेलाका विश्व विख्यात स्ट्राइकर रोनाल्डो (जोसे मोरिन्होको भाषामा साँच्चैको रोनाल्डो) जस्तै ।

 

राकेश श्रेष्ठमा पाओलो माल्दिनीको छनक पाइन्थ्यो । उपेन्द्रमान सिंह फाबिएन बार्थेज जस्तै लाग्थे । बालगोपाल मर्हजन मेरा दुई सर्वकालिन प्रिय खेलाडी जिनेदिन जिदान र डेनिस बर्गक्याम्पको नेपाली रुप थिए । शुक्र तामाङ लिजाराजु अनी डिबक्स बाहिरबाटै गोलपोष्टमा शक्तिशाली प्रहार गर्न माहिर राजन रायमाझी म्यानचेस्टर युनाइटेडका पउल स्कोल्सको नेपाली संस्करण थिए मेरा लागि ।

 

घरेलु लिग फुटबल बेलामौका भइरहन्थ्यो । मनाङ मस्र्याङदी क्लब र महेन्द्र पुलिस क्लबको फाइनल खेल हुँदा स्कुल पनि चाँडै छुट्टि हुन्थ्यो कहिलेकहीँ । पुलिस क्लबमा हरि खड्का थिए स्ट्राइकर । अनन्त थापा पनि आर्कषक लाग्थे । देव नारायण चौधरी चाँही मलाई सँधै हास्यास्पद लागे । ‘हेड मेसिन’को उपमा पाएका उनले ‘हेड’द्धारा गोल गरेको कहिल्यै देखिएन । एक पटक गरेका थिए, तर आफ्नै पोष्टमा !

 

एनआरटी र थ्रिस्टार पनि शक्तिशाली थिए । ब्वाइज युनियन र फ्रेन्ड्स भने मुर्झाइसकेका थिए । फुटबल प्रतियोगिताहरु गाउँ–टोल तिर पनि भइरहन्थे । त्यहाँ पनि हरि खड्का, उपेन्द्रमान सिंह, राकेश श्रेष्ठ आदिका टोले संस्करणहरु हुन्थे ।

 

नेपाली खेलाडीहरुका संस्करणहरु टोल देखि विश्व हल्लाउने खेलाडीहरु सम्म हुने गर्दथे । फुटबलसँग हाम्रो आत्मियता, भावनात्मक सम्बन्ध र केही हदसम्म सपनाका तन्तुहरु समेत जोडिएका थिए ।

 

दूर्भाग्यवश नेपालका ‘मेलेनिया’हरुमा (सन् २००० को दशकमा हुर्कँदै गरेका) खेलकुद सम्बन्धि कुनै सपना भेटिदैन । उनीहरु सामान्यतः कुनै पनि खेलका नेपाली खेलाडीहरुको नाम थाहा पाउँदैनन् । युरोपियन लिग हेरेर वा मेस्सी वा रोनाल्डोको फ्यान भएर चाँही नेपालमा कोहि पनि नवयुवा खेलाडी बन्दैन । त्यो त फगत मनोरञ्जन मात्र हो ।

 

विस्तारै ती तन्तुहरु छिने । हामी खेल्ने चउरहरु पहिले पर्ती जग्गामा परिणत भए अनी त्यसपछि राज्यका एजेन्टका रुपमा रहेका भूमि व्यवस्थापक वा जग्गाविद्हरुले ती पर्ती जग्गाहरु झ्वाम पारे ।

 

पाकिस्तानमा नरिवलको रुख हल्लाउँदा बर्रर नरिवलका दाना झरेजस्तै तीव्र गतिका बलरहरु झर्छन् किनकी त्यहाँका युवाहरुको भावना र सपनाहरुमा वसिम अक्रम, वकार युनिस र सोयब अख्तरहर बास गर्छन् ।

 

अनी भारतमा सुनिल गावस्कर र सचिन तेन्दुलकरको ‘हिरोइजम’ले विराट कोहलीहरु जन्माइरहन्छ । तर, नेपालमा त्यस्तो हुन सकेन । हुने संभावना पनि समाप्त भयो, प्रायः सबै खेलहरुमा ।

 

कुनै पनि देशमा खेलकुद क्षेत्रको विकासका लागि समाजमा खेलकुद संस्कृतिको विकास हुन जरुरी हुन्छ । नव–युवाहरुको सपना खेलकुदसँग जोडिनु पर्दछ ।

 

दूर्भाग्यवश नेपालका ‘मेलेनिया’हरुमा (सन् २००० को दशकमा हुर्कँदै गरेका) खेलकुद सम्बन्धि कुनै सपना भेटिदैन । उनीहरु सामान्यतः कुनै पनि खेलका नेपाली खेलाडीहरुको नाम थाहा पाउँदैनन् । युरोपियन लिग हेरेर वा मेस्सी वा रोनाल्डोको फ्यान भएर चाँही नेपालमा कोहि पनि नवयुवा खेलाडी बन्दैन । त्यो त फगत मनोरञ्जन मात्र हो ।

 

सन् २००० को दशकमा पुग्दै गर्दा नेपालमा राजनीतिक द्धन्द चुलियो । शान्ति सुरक्षा देशको प्रमुख मुद्दा हुने नै भयो । खेलकुद विलासी भयो । नेपाली युवाहरुको खेलकुदसँग जोडिएका सबै तन्तुहरु छिने ।

 

द्धन्द पश्चात् पनि नेपाल ठूला ठूला राजनीतिक मुद्दाहरुमा अल्झिरह्यो । नेपालको ऐतिहासिक नियति कस्तो छ भने ठूला ठूला राजनीतिक र दार्शनिक विषयहरुमा स-साना मानिसहरुको सुख-दुःख र भावनाका घाँटीहरु निमोठिइरहन्छन् । खेलकुदको क्षेत्रमा पनि कुरा ठ्याक्कै यही भयो ।

 

आजका दिनसम्म पनि नेपालको राजनीति शिक्षा, स्वास्थ्य, पर्यावरणजस्ता जनताका आधारभूत आवश्यकतामा समेत केन्द्रित हुन सकेको छैन भने खेलकुद त धेरै परको कुरा हो । नेपालको राजनीति आजका दिनसम्म पनि एउटा व्यक्तिको राजनीतिक व्यवस्थापनका वरपर घुमिरहको छ ।

 

सिधा भाषामा भन्दा उनको युद्ध अपराध ढाकछोप गर्न र अकूत सम्पत्तिको संरक्षण गरेर उनको राजनीतिलाई ‘सेफल्याण्डिङ’ गर्न मै केन्द्रित छ नेपालको राजनीति । त्यसैले नेपालमा आगामी दुई-तीन दशकसम्म कुनै पनि प्रकारको खेलकुदको विकास हुन संभव छैन ।

 

क्रिकेटको विकास हुन्छ कि त ?

 

नेपालको खेलकुद क्षेत्रमा पछिल्लो १०–१२ वर्षमा क्रिकेटले ठूलो छलाङ लगाएको छ । त्यसकारण सामान्य नेपालीहरुले सहज बुद्धिले बुझ्ने गरेको तथ्य के हो भने नेपाली क्रिकेट अझ धेरै अगाडि बढ्ने छ ।

 

तल पिँधबाट उठेर विकासको यो चरणमा आउँदै गर्दा नेपाली क्रिकेटको गर्धनमा राज्यले हात पुर्याइसकेको छ । अब परक्क बटारेर गर्धन भाँचिदिन मात्र बाँकी छ ।

 

तर, मेरो व्यक्तिगत विचारमा नेपाली क्रिकेट पनि उत्तराद्र्धमा रहेको छ । कारण के हो भने, नेपालमा क्रिकेटको विकास तल जनताको स्तरबाट विकास हुँदै आएको हो, राज्यको तहबाट कुनै प्रशासनिक संरचनाको सहजतामार्फत विकास भएको होइन नेपाली क्रिकेट । जनस्तरबाटै एकाध दशक अघि कुनै पहिचान नभएको क्रिकेट खेलले विस्तारै पहिचान र हैसियत बनाउँदै आएको हो ।

 

थकाली जाती राज्यले निर्माण गरेको सामाजिक संरचनाबाट उम्केर आफ्नो मौलिक संस्कृतिलाई समेत ‘बरकरार’ राख्दै अन्य जनजातीको तुलनामा समृद्ध भए जस्तै हो नेपाली क्रिकेट । वा, भक्तपुर नगरपालिका रोहितको कारणले राज्यको सिकञ्जाबाट उम्केर तुलनात्मक रुपमा नेपालका अन्य क्षेत्रको भन्दा बढी नागरिकको तहको लोकतन्त्रको अभ्यास गर्दै आफूलाई उदाहरणीय बनाएजस्तै । प्रदेश नं २ अन्य राज्य भन्दा हालको अवस्थामा बढी ‘डाइनामिक’ र ‘भाइब्रेन्ट’ देखिएजस्तै ।

 

तर, तल पिँधबाट उठेर विकासको यो चरणमा आउँदै गर्दा नेपाली क्रिकेटको गर्धनमा राज्यले हात पुर्याइसकेको छ । अब परक्क बटारेर गर्धन भाँचिदिन मात्र बाँकी छ ।

 

अन्त्यमा,

 

नेपाली खेलकुद र समाजबीचको भावनात्मक लगायत सबै सम्बन्धहरु राज्यले ध्वस्त पारिसकेको अवस्था छ । खेलकुद प्रशासनको त झन् कुरा गरेर साध्यै छैन । गणेश थापा एन्फामा ५८ करोड रुपैयाँको भ्रष्ट्राचारको कुरा उठेपछि त्यहाँबाट उठेर संविधानसभामा संविधान बनाउन गएको उदाहरण ताजै छ ।

 

एजेन्टहरुको भर्ती र बजेट पचाउनका लागि खेलकुद मैदान र खेलाडी नै नभएका खेलहरु खेलकुद परिषद्मा दर्ता भएका छन् ।

 

यो ‘साग’मा सह–देशवासी साथीभाइहरुले धेरै भन्दा धेरै पदक जितुन र आफ्नो आर्थिक र सामाजिक भविष्यलाई सहज पारुन भन्ने हार्दिक शुभकामना !

 

तर, उनीहरुले जितेको पदकमा नेपाल राज्यको कुनै हक लाग्ने छैन । खेलाडीहरुले जति नै पदक जिते पनि अक्षम प्रशासन र समाजको खेल संस्कृतिनै ध्वस्त पार्ने राजनीतिको माध्यमबाट समग्र नेपाली युवाहरुको खेल सपना समाप्त पार्ने राज्यसत्ताको भने पदक तालिका शून्य नै रहनेछ ।

 

फरवार्ड कम्युनिटीले घोषणा गर्यो आकर्षक लाभांश Read Previous

फरवार्ड कम्युनिटीले घोषणा गर्यो आकर्षक लाभांश

बन्दीपुरमा एक वर्षभित्र केबुलकार संचालन हुने Read Next

बन्दीपुरमा एक वर्षभित्र केबुलकार संचालन हुने