काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल ६० किस्तामा तिर्न सक्ने बताएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै किस्ताबन्दीमा बक्यौता बुझाउन चाहने उद्योगलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको हो ।
गत पुस १६ गते बसेको प्राधिकरण संचालक समितिको बैठकले लोडसेडिङको बेला विद्युत् सेवा प्राप्त गरी महशुल बुझाउन बाँकी रहेका उद्योगहरूलाई किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
सो निर्णय कार्यान्वयनका लागि आइतबार प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री शक्ति बहादुर बस्नेत लगायतसँग छलफल गरेको थियो । छलफलपछि प्राधिकरणले आज सूचना जारी गर्दै किस्ताबन्दीको सुविधा लिन इचछुक उद्योगलाई ३० दिन भित्र सम्बन्धित वितरण केन्द्रमा आवेदन दिन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंकलाइनको बक्यौता बाँकी रहेका उद्योगहरूले ६० किस्ता अर्थात् ६० महिनामा महशुल बुझाउनु पर्नेछ । उद्योगहरूले आफूले तिर्नुपर्ने बक्यौता एकैपटक नभई ६० महिनासम्म महिनैपिच्छे किस्तामा बुझाउन सक्ने प्राधिकरणले जनाएको छ ।
डेडिकेटेड र ट्रंकक लाइन उपभोग गरेका ६१ उद्योगले २२ अर्ब २४ कराेड रुपैयाँ महशुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
दुई दर्जन उद्योगको लाइन काटियो
पछिल्लो समय प्राधिकरणले ५ करोड बढी बक्यौता रहेको उद्योगहरूको धमाधम लाइन काटन् थालेको छ । पुस ६ गतेदेखि सोमबारसम्म प्राधिकरणले २ दर्जन उद्योगको लाइन काटिसकेको छ ।
प्राधिकरणले पहिले चरणमा पुस ६ गते जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो । प्राधिकरणका अनुसार जगदम्बाले मात्रै रु ४ अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले रु १ अर्ब ९४ करोड, घोराही सिमेन्टले रु १ अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले रु १ अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ ।
त्यस्तै, पुस ९ गते सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको थियो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले रु ८५ करोड र लक्ष्मी स्टिलले रु ६२ करोड बराबरको बक्यौता तिर्न बाँकी छ ।
प्राधिकरणले पुस १३ गते एकैपटक १४ उद्योगको लाइन काटेको थियो । प्राधिकरणले से बेला जगदम्बा इन्टरप्राइजेज (४७ करोड ९८ लाख रुपैयाँ), हामा आइरन (११ करोड ५५ लाख रुपैयाँ), कसमस सिमेन्ट (३५ करोड ८२ लाख रुपैयाँ), शुभश्री अग्नी सिमेन्ट (३८ करोड १० लाख रुपैयाँ), जगदम्बा सिन्थेटिक (४७ करोड ५३ लाख रुपैयाँ), घराना फुड्स (५ करोड ९ लाख रुपैयाँ), सिद्धार्थ पेटप्लास्ट (५ करोड २४ लाख रुपैयाँ)को लाइन काटेकेा थियो ।
त्यसैगरी, बुटवल सिमेन्ट (३२ करोड ९८ लाख रुपैयाँ), नारायणी स्पात (७८ करोड ४९ लाख रुपैयाँ), बाबा जुट मिल (५ करोड ६१ लाख रुपैयाँ), निगाले सिमेन्ट (१४ करोड २१ लाख रुपैयाँ), त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज (१५ करोड ६६ लाख रुपैयाँ),हिमाल आइरन एण्ड स्टील (८ करोड १३ लाख रुपैयाँ), जएभरेष्ट पेपर मिल (२१ करोड ३६ लाख रुपैयाँ)को लाइन काटेकाे थियो ।
यस्तै, हिजो मात्रै हुलास स्टील उद्योगको लाइन काटेको थियो । उक्त उद्योगले ४२ करोड २४ लाख रुपैयाँ महशुल बुझाउन बाँकी छ ।
यसैबीच, बारा-पर्सा औद्योगिक करिडोर अन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टीललेले भने किस्तामा पैसा बुझाएसँगै प्राधिकरणले लाइन जोडिदिएको छ ।
हिमालले प्राधिकरणलाई ८ करोड १२ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । सोमध्ये पुस १७ गते पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको थियो ।
