भारतीय लगानीकर्तालाई नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्ताहरुलाई नेपालको फस्टाउँदो ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेपाल-इन्डिया बिजनेस फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले द्रुतरुपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका प्रसस्त सम्भावनाहरु रहेको बताएका हुन् ।

उनले नेपालमा पर्यटन पूर्वाधारको क्षेत्रमा हालै भएको उल्लेख्य विकासबारे चर्चा गर्दै भैरहवा र पोखरामा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै नेपालमा पर्यटन क्षेत्रको सम्भावनाको ढोका खुलेको बताए ।

उनले नेपालमा होटल, केवलकार, थिम पार्क, साहशी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेको र यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे।

‘नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मारेको छ । म भारतीय लगानीकर्ताहरुलाई नेपालमा बढ्दो पर्यटन सम्भावनालाई प्रयोग गर्दै यहाँका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगसँगै पर्यटकको आगमन बढेको छ । यसले धेरै क्षेत्रमा लगानी गरी फाइदा लिनसक्ने वातावरण बनाइदिएको छ,’ उनले भने।

उनले नेपालमा परम्परागत क्षेत्रभन्दा बाहिर रहेका नयाँ र उदीयमान क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, कृषि र उत्पादन क्षेत्रमा लगानीका लागि सहकार्य गर्नका लागि समेत आग्रह गरे ।

नेपालमा लगानी गरेका भारतीय र बहुराष्ट्रिय कम्पनीले निकै राम्रो प्रतिफल लिइरहेको बताउँदै अध्यक्ष ढकालले भारतीय लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न र यसको फाइदा उठाउन आह्वान गरे ।

नेपालमा भारतीय लगानीले नेपालको आर्थिक विकासमा मात्र योगदान पुर्याउने नभई दुई देशबिचको आर्थिक सम्बन्ध पनि बलियो बनाउने विश्वास उनले व्यक्त गरे । अध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यमा नेपाल सरकारले यही वैशाखमा आयोजना गर्न गइरहेको लगानी सम्मेलनको चर्चा गर्दै त्यसमा भारतीय लगानीकर्ताहरुलाई सक्रिय सहभागिताका लागि आमन्त्रण समेत गरे ।

हालै भारतीय विदेशमन्त्री जय शंकरको भ्रमणको अवसरमा नेपाल र भारत बीच १० हजार मेगावाटसम्म नेपालको विद्युत भारतीय बजारमा लिने विषयमा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई ठूलो अवसर सृजना गरेको उनले बताए ।

अध्यक्ष ढकालले क्षेत्रीयरुपमा व्यवसायिक गतिविधि विस्तार गर्न र क्षेत्रीय व्यापार प्रवद्र्धन गर्न आफूले बिम्स्टेक बिजनेस फोरमको प्रस्ताव गरेको बताउँदै त्यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न इन्डियन च्याम्बर अफ कमर्शलाई आग्रह गरे ।

सङ्घीय संसद्का लागि एकैसाथ १२ अत्याधुनिक भवन बन्दै, ७७ प्रतिशत काम पूरा Read Previous

सङ्घीय संसद्का लागि एकैसाथ १२ अत्याधुनिक भवन बन्दै, ७७ प्रतिशत काम पूरा

पहिलो दिनमै हिमालयन रिको आइपीओ बेच्नेले कमाए ४० लाख नाफा, कतिले बेचे ? Read Next

पहिलो दिनमै हिमालयन रिको आइपीओ बेच्नेले कमाए ४० लाख नाफा, कतिले बेचे ?