काठमाडौं । दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिनमै हिमालयन रि-इन्स्योरेन्सका सेयरधनीले करिब ४० लाख रुपैयाँ नाफा कमाएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार कम्पनीको कुल ३० हजार ८६६ कित्ता सेयर कारोबार भएको छ । कारोबार भएको कुल सेयरमध्ये अधिकांश सेयर प्रतिकित्ता ३४०.१ रुपैयाँ दरले बिनबेच भएको छ ।
लगानीकर्ताले हिमालयनको सेयर प्रतिकित्ता २०६ रुपैयाँ दरले किनेका थियो । आज प्रतिकित्ता ३४० रुपैयाँदरले बेच्दा लगानीकर्ताले प्रतिकित्ता १३० रुपैयाँ (करबाहेक) नाफा कमाएको देखिन्छ । सो अनुसार १० कित्ता आइपीओ बेच्नेले १ हजार ३०० रुपैयाँ नाफा कमाएका छन् भने कुल कारोबार भएको कित्ताको आधारमा हिसाब गर्दा करिब ४० लाख रुपैयाँ नाफा कमाएका छन् ।
आज प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढेको छ । आज २२६० पटकमा कम्पनीको कुल १ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
कम्पनीको एकपटकमा न्यूनतम १ कित्तादेखि अधिकतम १५० कित्तासम्म सेयर कारोबार भएको छ । सो आधारमा पहिलो दिनमा कम्तीमा २ हजार लगानीकर्ताले आइपीओ बेचेका छन् ।
सोमबार कम्पनीको सेयर खरिदका लागि उच्च माग रहे पनि बिक्रीकर्ता भने न्यून थिए । आज कम्पनीको २९ लाख बढी कित्ता सेयर खरिदका लागि माग हुँदा करिब ३१ हजार कित्ता मात्र बिक्री भएको हो ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म प्रतिकित्ता २०६ रुपैयाँ (प्रतिकित्ता १०६ रुपैयाँ प्रिमियम थपेर)दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा १५ लाख ६४ हजार ५६४ जनाले न्यूनतम १० देखि ४० कित्तासम्म सेयर पाएका थिए ।
हिमालयन रि नेपाली सेयर बजार इतिहासमै दोस्रो ठूलो आइपीओ ल्याउने कम्पनी समेत हो । कुल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीमा संस्थापकको ७ अर्ब र सर्वसाधरणको ३ अर्ब रुपैयाँ लगानी रहेको छ ।