बीमा कम्पनीकाे लगानीका क्षेत्र बढाइयो, पब्लिक कम्पनीमा १५% सम्म लगानी गर्न पाउने

काठमाडौं । बीमा कम्पनीहरूको लगानीको क्षेत्र बढाइएको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० र पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० जारी गर्दै लगानीको क्षेत्र बढाएको हो ।

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरू (जीवन, निर्जीवन र पुनर्बीमा)ले अब प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डमा लगानी गर्न पाउने छन् ।

प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने छन् ।

बीमा कम्पनीहरूले प्राभइेट इक्विटी र भेन्चर क्यापिटलमा कुल लगानीको बढीमा १.५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । जसमा एउटै फण्डमा अधिकतम् १ प्रतिशतसम्म लगानी गर्न पाउने प्राधिकरणले जनाएको छ । कम्पनीहरूले लगानी गर्नु पूर्व प्राधिकरणबाट स्वीकृति लिनुपर्नेछ ।

यसअघि बीमा कम्पनीहरूले विभिन्न ११ क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था थियो । प्राधिकरणका अनुसार अब बीमा कम्पनीहरूले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जा लगायत नवीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत्, प्रसारण लाइन, शिक्षा, स्वास्थ्य, सेवामूलक क्षेत्र, विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फडर्मा लगानी गर्न पाउने छन् ।

पब्लिक कम्पनीका १५ प्रतिशतसम्म लगानी गर्न पाउने

प्राधिकरणले बीमा कम्पनीहरूले सूचीकृत कम्पनीमा गर्न पाउने सेयर लगानीको सीमा पनि बढाएको हो । नयाँ व्यवस्था अनुसार अब बीमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सेयरमा लगानी गर्ने कम्पनीको चुक्ता पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् ।

यसअघि बीमा कम्पनीहरूले लगानी गर्ने कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशतसम्म मात्रै सेयर लगानी गर्न पाउँथे भने साधरण सेयरमा मात्रै लगानी गर्न पाउने व्यवस्था थियो । अब भने साधरण र संस्थापक दुवै सेयरमा लगानीको बाटो खुलेको छ ।

नेप्सेमा उच्च अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, यी ५ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

नेपाल एयरलायन्सका 'क्याबिन क्रु'लाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चकाे आदेश Read Next

नेपाल एयरलायन्सका 'क्याबिन क्रु'लाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चकाे आदेश