वासिङ्टन । अमेरिकी वायुसेवा नियामकले बोइङ ७३७ म्याक्स ९ जेटलाई ग्राउन्डिङ गर्न आदेश दिएको छ ।
शुक्रबार अमेरिकामा अलास्का एयरलाइन्सको उडानका क्रममा एउटा विमानको झ्यालको सिसा फुटेपछि संघीय उड्डयन प्रशासन (एफएए)ले अनुसन्धानका लागि बोइङका १७१ विमानहरूलाई ग्राउन्डेड गर्न निर्देशन दिएको हो ।
शुक्रबार अलास्का एयरलाइन्सको विमानले अमेरिकी राज्य ओरेगनबाट उडान भरेपछि आपतकालीन अवतरण गर्नुपरेको थियो । सो जहाजमा १७७ जना यात्रु थिए ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ ।
विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो ।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड, एफएए र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेका छन् । बोइङले थप जानकारी सङ्कलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका लागि सहयोग गर्न तयार गरिएको जनाएकाे छ ।