काठमाडौं । आर्थिक मन्दीका बाबजुद जीवन बीमा व्यवसायमा सुधार आएको छ । अर्थतन्त्रमा आएको संकुचनले समग्र बैंकिङ व्यवसायमा गिरावट आइरहेको बेला जीवन बीमा व्यवसाय भने बढेको देखिएको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ५ महिना (साउन–मंसिर)सम्म व्यवसाय ३.७६ प्रतिशतले बढाउन सफल भएका छन् ।
चालु आवको मंसिर मसान्तसम्म १४ जीवन बीमा र ३ लघुबीमा कम्पनीहरूले कुल ६१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २ अर्ब २४ करोड रुपैयाँ धेरै हो । गत वर्ष सोही अवधिमा कम्पनीहरूले ५९ अर्ब ५१ करोड रुपैयाँ बराबर प्रिमियम संकलन गरेका थिए ।
यस अवधिमा १४ जीवन बीमा कम्पनीले ६१ अर्ब ७४ करोड र ३ लघुबीमा कम्पनीले १ करोड ९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । समीक्षा अवधिमा कुल बीमा शुल्क संकलन बढे पनि प्रथम बीमा शुल्क संकलन भने घटेको छ । यस अवधिमा बीमा कम्पनीले नयाँ व्यवसाय बढाउन नसके पनि पुरानै पोलिसीले भरथेग गरेको छ ।
गत वर्ष मंसिरसम्म ११ अर्ब २७ करोड प्र्रथम बीमा शुल्क संकलन गरेकोमा यस वर्ष १० अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा नवीकरण शुल्क भने साढे २ अर्ब रुपैयाँ बढेको छ । गत वर्ष मंसिरसम्म पोलिसी नवीकरणबाट ४८ अर्ब २८ करोड प्रिमियम संकलन गरेका कम्पनीहरूले यस वर्ष सोही अवधिमा ५० अर्ब ७७ करोड रुपैयाँ संकmलन गरेका छन् ।
समीक्षा अवधिमा प्रिमियम संकलन बढे पनि सक्रिय बीमालेखको संख्या भने घटेको छ । गत वर्षको तुलनामा सक्रिय बीमा लेखको संख्या २ लाख २३ हजार ९५१ वटाले घटेको छ । गत वर्षको कात्तिकसम्म सक्रिय रहेको कुल बीमा लेखको संख्या १ करोड ३९ लाख ८६ हजार ५०५ रहेकोमा यस वर्षको सोही अवधिसम्म आइपुग्दा घटेर १ करोड ३७ लाख ६२ हजार ५५४ रहेको छ । जबकि यस वर्ष तीनवटा लघु जीवन बीमा कम्पनीहरूको पनि व्यवसाय थपिएको छ ।
नेपाल लाइफको वर्चश्व कायमै, लघुबीमाको नगन्य
समीक्षा अवधिमा बीमा शुल्क संकलनमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा नेपाल लाइफले मात्रै १६ अर्ब ७६ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको २७.२४ प्रतिशत हिस्सा हो ।
यसैगरी , यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले दोस्रो धेरै ७ अर्ब १६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यस्तै, हिमालयन लाइफले ६ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमाले ४ अर्ब ५२ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ अर्ब ९२ करोड, एशियन लाइफ ३ अर्ब २ करोड बीमा शुल्क संकलन गरेका छन् ।
यस्तै, सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड, मेट लाइफ २ अर्ब १९ करोड, आइएमई लाइफ १ अर्ब ६३ करोड, सन नेपाल १ अर्ब ४४ करोड, रिलायबल लाइफ १ अर्ब ५३ करोड, सिटिजन लाइफ २ अर्ब २३ करोड, सानिमा लाइफ २ अर्ब ३६ करोड र प्रभुमहालक्ष्मी लाइफले सबैभन्दा कम १ अर्ब ६७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
समीक्षा अवधिमा लघुबीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको ५ महिनामा जम्मा १ करोड ९ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् ।
जसमा गार्डियन माइक्रो लाइफले ३५ लाख ५६ हजार, क्रेष्ट माइक्रो लाइफले ६१ लाख ९८ हजार र लिबर्टी माइक्रो लाइफले ११ लाख ६७ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।