काठमाडौंका पेट्रोल पम्पले डेढ महिनाभित्र शौचालय सञ्चालनमा ल्याउनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले पेट्रोल पम्पहरूमा डेढ महिनाभित्र शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ । बिहीबार महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले, महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि छन् ।

समितिलाई पेट्रोल पम्पहरूको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

महानगरपालिकाले गएको बैशाखमा पेट्रोलियन पदार्थ विक्री मापदण्ड पूरा नगरेको वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको थियो । नेपाल आयल निगमका अनुसार ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित) को मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने महानगरपालिकाभित्रका १६ वटा पम्पको सूचीमा यो पनि थियो ।

सहरभित्र भएका पेट्रोल पम्पहरू आगलागीजन्य विपदको जोखिम रहेको, सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको गुनासो आउने गरेका छन् ।

‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ अनुसार काठमाडौँ र ललितपुर महानगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ ।

भौतिक पूर्वाधारसहित बिक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । बिक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेबलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाइमा इँट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।

पेट्रोलियम पदार्थको बिक्री क्षेत्र, बिक्रीस्थलको क्षेत्रफल तथा बिक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा बिक्रेताको मापदण्ड तोकिएको छ ।

 

अब भारतले नेपालमा एउटै परियोजनामा २० करोडसम्म सोझै खर्च गर्न सक्ने Read Previous

अब भारतले नेपालमा एउटै परियोजनामा २० करोडसम्म सोझै खर्च गर्न सक्ने

विदूषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त Read Next

विदूषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त