अब भारतले नेपालमा एउटै परियोजनामा २० करोडसम्म सोझै खर्च गर्न सक्ने

काठमाडौं । अब भारत सरकारले नेपालमा एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै खर्च गर्न पाउने भएको छ ।

बिहीबार दुई देश बीच भारतले नेपाललाई प्रदान गर्दै आएको हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआइसीडीपी) अन्तर्गतको रकम २० करोड रुपैयाँ पुर्‍याउने सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेका छन्। नेपालका परराष्ट्र मन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

यससँगै अब भारतीय दूतावासले नेपालका परियोजनाहरूमा सिधै २० करोडसम्म खर्च गर्न पाउने छ । एचआइसीडीपी अन्तर्गतको खर्च गर्न पाउने रकम चार गुणाले बढाइएको हो । यसअघि भारतीय दूतावासले एचआइसीडीपी अन्तर्गत ५ करोड रुपैयाँसम्म सिधै परियोजनाहरूमा खर्च गर्न पाउँथ्यो ।

सम्झौता अनुसार भारतले यो रकम नेपालस्थित भारतीय दूतावासमार्फत् सिधै खर्च गर्न पाउँछ । परियोजनाको छनोट र कार्यान्वयन पनि दूतावास आफैले गर्नेछ । गत मंसिर २० गतेको मन्त्रिपरिषद्को बैठकले एचआइसीडीपी अन्तर्गतको सहयोग स्वीकार गर्ने निर्णय गरेको थियो।

एचआइसीडीपी अन्तर्गतको रकम भारतले कृषि‚ शिक्षा‚ स्वास्थ्य‚ खानेपानी लगायत क्षेत्रमा खर्च गर्दै आएको छ ।

यस्तै, बिहीबार नै भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावटसम्म विद्युत आयात गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गरे ।

त्यस्तै, भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि १० अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने सहमति भएको छ ।

 

चल्लाले मूल्य नपाएपछि धमाधम बन्द हुँदै ह्याचरी उद्योग Read Previous

चल्लाले मूल्य नपाएपछि धमाधम बन्द हुँदै ह्याचरी उद्योग

काठमाडौंका पेट्रोल पम्पले डेढ महिनाभित्र शौचालय सञ्चालनमा ल्याउनुपर्ने Read Next

काठमाडौंका पेट्रोल पम्पले डेढ महिनाभित्र शौचालय सञ्चालनमा ल्याउनुपर्ने