चल्लाले मूल्य नपाएपछि धमाधम बन्द हुँदै ह्याचरी उद्योग

चितवन । कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।

नेपालमा दर्ता भएका ३७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटामात्रै सञ्चालनमा छन् । पोल्ट्री क्षेत्रका ज्ञाता डा. तिलचन्द्र भट्टराईका अनुसार धेरै ह्याचरी चल्लाले मूल्य नपाएपछि सञ्चालन हुन नसकेका हुन् । सञ्चालनमा आएका ह्याचरीको पनि उत्पादन ५० प्रतिशत मात्रै छ ।

ह्याचरी उद्योग कम सञ्चालन भएपछि विदेशबाट ल्याइने प्यारेन्टको सङ्ख्यामा निकै कमी आएको छ । भट्टराईका अनुसार सन् २०१९/२० मा ४६ हजार २०० लेयर्स प्यारेन्ट भित्रिएका थिए । सन् २०२०/२१ मा १ लाख ४८ हजार ८७०, सन् २०२१/२२ मा १ लाख १३ हजार ४३३ र २०२२/२३ मा ६९ हजार ४० मात्रै लेयर्स प्यारेन्ट नेपाल भित्रिएका छन् ।

यस्तै, ब्रोइलर प्यारेन्ट सन् २०२०/२१ मा १८ लाख १२ हजार २९२, सन् २०२१/२२ मा १७ लाख ५ हजार १५४ र सन् २०२२/२३ मा १ लाख २ हजार १४ भित्रिएका छन् । भट्टराईले ब्रोइलरमा ४० प्रतिशत र लेयर्समा ४४ प्रतिशत गिरावट आएको बताए । प्यारेन्ट कम भित्रिएसँगै चल्लाको उत्पादनमा पनि निकै कमी आएको उनको भनाइ छ ।

यसले प्रत्यक्षरुपमा पोल्ट्री क्षेत्रमा प्रभाव हुने देखिएको छ । पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्यारेन्ट आयातमा निकै कमी आएको भन्दै चल्ला उत्पादन कम हुँदासमेत मूल्य नपाएको बताए ।

समग्रमा आर्थिक मन्दीसँगै यो क्षेत्र प्रभावित भएको उनको भनाइ छ । कोभिडपछि एकोहोरो चल्लाको मूल्य घटेको पोखरेल बताउनुहुन्छ । नेपाल ह्याचरी उद्योग सङ्घका पूर्वअध्यक्ष रहेका पोखरेलका अनुसार भारतबाट आउने अवैध चल्लाका कारण पनि बजार प्रभावित छ । सरकारले क्वारेन्टाइन ऐन संशोधन गरेर चोरी नियन्त्रण गरेमा उद्योग पूर्ववत् अवस्थामा फर्कन सहयोग पुग्ने उनी बताउँछन् ।

यस्तै बैंकको व्याजदरलाई एकल अङ्कमा झार्नुपर्ने उनले बताए। उनले भने, ‘समयमै सरकारले पोल्ट्री क्षेत्रलाई हेर्न सकेन भने आत्मनिर्भर यो व्यवसाय समाप्त हुने अवस्थामा पुग्छ ।’ पोल्ट्री क्षेत्रमा रु १ खर्ब ६० अर्बभन्दा बढी लगानी भएको भन्दै उनले ह्याचरी उद्योगमा मात्रै रु ६० देखि ७० अर्ब लगानी भएको बताए ।

कोभिडपछिको अवस्थामा रु २० देखि २५ अर्ब ह्याचरी उद्योगमा नोक्सान भएको पोखरेल बताउँछन् । उनले थपे, ‘पोल्ट्री क्षेत्र रहेन भने रु १ खर्ब ६० अर्बभन्दा बढी व्यापार नोक्सान व्यहोर्नुपर्छ ।’

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष ऋषिराम पौडेल चार वर्षदेखि लागतभन्दा कम मूल्यमा चल्ला बिक्री गर्न बाध्य भएको बताउँछन् । आर्थिक मन्दीसँगसँगै युवा जनशक्ति पलायन हुँदा कुखुरा पाल्ने र खपत गर्ने दुवैमा कमी आएको उनको भनाइ छ ।

कम ब्याजदरमा लिएको ऋण बढेको, दानाको कच्चा पदार्थ, औषधि लगायतको मूल्य बढेको, भारतीय सीमाबाट चोरी गरी चल्ला आएकालगायत कारण यहाँको ह्याचरी उद्योग धरासायी बन्ने अवस्थामा पुगेको उनी बताउँछन् । उनले भने, ‘निजी क्षेत्रले मात्रै उद्योग धान्नसक्ने अवस्थामा अब उद्योग छैन ।’

साना व्यवसाय गर्न चाहने किसानसँग आर्थिक अभावका कारण पेसा नै पलायन हुने अवस्थामा पुगेको उनी बताउँछन् । सङ्घका कोषाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अहिले ब्रोइलर चल्ला प्रतिगोटा रु ३५ देखि ४० मा बिक्री हुँदै आएको छ । यसको लागत मूल्य रु ६० देखि ६५ पर्न आउँछ । लेयर्स चल्लाको बजार मूल्य रु ७० देखि ७५ छ । यसको लागत मूल्य रु १२० देखि १३० पर्न आउँछ ।

लामिछानेको भनाइमा ५० देखि ६० प्रतिशत नोक्सानमा पछिल्लो समय काम गर्नुपर्दा धेरै ह्याचरी बन्द भएका हुन् । नेपालमा विसं २०४२ देखि व्यावसायिकरुपमा ह्याचरीले चल्ला उत्पादन गर्न थालेका हुन् । यहीँ चल्ला उत्पादन हुन थालेपछि क्रमशः विदेशबाट चल्ला आयात रोकिएको थियो ।

बीवाइडीले एक वर्षमै बेच्यो ३० लाख बढी गाडी Read Previous

बीवाइडीले एक वर्षमै बेच्यो ३० लाख बढी गाडी

अब भारतले नेपालमा एउटै परियोजनामा २० करोडसम्म सोझै खर्च गर्न सक्ने Read Next

अब भारतले नेपालमा एउटै परियोजनामा २० करोडसम्म सोझै खर्च गर्न सक्ने