काठमाडौं । प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) जारी गरेका बीमा कम्पनीहरूले प्रिमियमबापतको रकम सञ्चित कोषमा राख्नुपर्ने भएको छ ।
नेपाल बीमा प्राधिकरणले प्रिमियममा सेयर बिक्री गरेका कम्पनीहरूलाई मंगलबार यस्तो निर्देशन दिएको हो । पछिल्लो समय प्रिमियममा आइपीओ निष्काशन सम्बन्धी विवाद भएपछि प्राधिकरणले हाललाई प्रिमियमबापत प्राप्त रकम सेयरधनीलाई नबाँडी जगेडा कोषमा राख्न निर्देशन दिएको हो ।
गत साता संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न नपाउने भन्दै त्यस विषयमा विस्तृत विवरण पठाउन निर्देशन दिएको थियाे । त्यसअघि बीमा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न नपाउने भन्दै अदालतमा मुद्दा समेत परेको थियाे । प्राधिकरणले सो मुद्दाको फैसला नहुन्जेल प्रिमियमको रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो ।
यसअघि प्रिमियमको रकम बोनसको रुपमा बाँकी चुक्ता पूँजी पुर्याउन दिइने बताइएको थियो । हालसम्म ५ वटा बीमा कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गरेका छन् । जसमा ४ जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी रहेका छन् ।
हिमालयन रि इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँ दरले आइपीओ जारी गरेको थियो । त्यस्तै, जीवन बीमातर्फ सिटिजन्स लाइफले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थपी २४४ रुपैयाँ र सन नेपाल लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँमा आइपीओ बिक्री गरेको थियो ।
त्यसैगरी, आइएमई लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २५७ रुपैयाँमा आइपीओ जारी गरेका थिए ।