काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले दिनदिनै पैसा खिच्न थालेको छ । बढ्दो निक्षेपको तुलनामा कर्जा विस्तार हुन नसक्दा अधिक तरलता भएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्लो समय दैनिक जस्तो प्रणालीबाट पैसा तानिरहको हो ।
मंगलबार (हिजो)मात्रै प्रणालीबाट १० अर्ब प्रशोचन गरेको राष्ट्र बैंकले आज फेरि २५ अर्ब खिच्न लागेको हो । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन बोलकबोल मार्फत १४ दिनका लागि २५ अर्ब रुपैयाँ उठाउन लागेको हो ।
बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।
केन्द्रीय बैंकले यसअघि गत साता पुस ११ गते ३५ अर्ब र १२ गते २० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।
प्रणालीमा पैसा थुप्रिएपछि पछिल्लो एक महिनामा मात्रै राष्ट्र बैंकले प्रणालीबाट दुई रुपैयाँ बढी तरलता खिचेको छ । यद्यपि, यस अवधिमा प्रणालीबाट खिचेको केही रकम परिपक्क भई फेरि प्रणालीमै गएको छ ।
हाल प्रणालीमा ६ खर्बभन्दा बढी तरलता थुप्रिएको छ । तरलता सहज भएसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत हाराहारीमा आएको छ ।