साइकल लेन, बुलेटप्रुफ गाडी र लोकतन्त्र

लोकतन्त्रको गहिराई फूटपाथको फराकिलोपनाले र समाजको समृद्धिको सूचक सडकमा गुडिरहका साइकलहरु हुन् भन्ने तथ्य विश्वका लोकतान्त्रिक र समृद्ध देशहरुले व्यवहारिक रुपमै स्थापित गरेका छन् ।

 

दूर्भाग्यवश लामो लोकतान्त्रीक आन्दोलनको इतिहास भए पनि हाम्रो लोकतन्त्र यसरी जनता र पर्यावरणको पक्षमा कहिल्यै उद्घाटित हुन पाएन । लोकतन्त्र आएको बेला कागजमै आयो र गएको बेला पनि कागजमै गयो । दुवै परिघटनामा राज्यसत्ताका विभिन्न एजेन्टहरुले सत्ता र शक्तिको रस चुसे ।

यसैबीच ललितपुर महानगरपालिकाले शनिबारबाट साइकल लेन शुरु गरेको छ । समान नागरिक हैसियत भए पनि गाडीवाला र बाइकवालाबाट साइकलयात्री वा पैदलयात्रीहरु सधैं हेपिदै आएका छन् काठमाडौंका सडकहरुमा ।

 

ललितपुरका मेयर चिरिबाबु महर्जनले शनिबार आफैं साइकल चढेर साइकल लेनको उद्घाटन गरेका छन् । साइकल लेन बनेको उपत्यकामा यो पहिलो पटक भने होइन ।

 

काठमाडौंको तिनकुने देखि माइतिघरसम्म साइकल लेन बनेको पनि हो । तर, अहिले त्यहाँ बस पार्क गरिएको हुन्छ । बेला-मौका आउने र फेरी कसैको गिद्धे नजरसँगै त्यसै हराएर जाने नेपाली लोकतन्त्रको जस्तै हालत भएको छ यो साइकल लेनको ।

अहिले जनताले आफ्नै प्रतिनिधि मार्फत बनाएको संविधान कार्यान्वयनमा रहेको छ । यो संविधानले नेपालमा दिगो रुपमा लोकतन्त्रलाई संस्थागत गरोस् र त्यसको जिवन्त प्रतिकको रुपमा यो साइकल लेन बनोस भन्ने शुभकामना अहिलेलाई ।

 

केही समययता इन्टरनेटमा एउटा तस्वीर भाइरल भइरहेको छ । त्यो तस्विरमा नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट राजदरबारमा राजासँग भेटघाटको लागि जाँदैछन् । र, राजदरबारमा पस्नुअघि आफ्नो साइकल ‘लक’ गर्दै छन् ।

 

नेदरल्याण्ड १ करोड ७० लाख जनसंख्या भएको देश हो । साइकल स्वस्थ र पर्यावरणमैत्री सवारी साधन भएको यो मुलुकले स्वीकार गरेको छ । र, बुलेटप्रुफ गाडी चढ्नुको सट्टा साइकल चढेर हिँडेर यो देशका प्रधानमन्त्री लगायत उच्चपदस्थहरुले समानता, सहजता, जिम्मेवारीबोध र उन्नत लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएका छन् । नेदरल्याण्ड विश्वकै धनी मध्येको देश हो ।

नेपाल बंगलादेश बैंकको साधरण सभा पुस ७ गते, बुक क्लोज कहिले Read Previous

नेपाल बंगलादेश बैंकको साधरण सभा पुस ७ गते, बुक क्लोज कहिले

ल्याएको ४ महिनामा पनि सञ्चालनमा आएन मास प्रिन्टर Read Next

ल्याएको ४ महिनामा पनि सञ्चालनमा आएन मास प्रिन्टर