ल्याएको ४ महिनामा पनि सञ्चालनमा आएन मास प्रिन्टर

काठमाडौं । यातायात व्यवस्थापन विभागले किनेको मास प्रिन्टर ३ महिना बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

 

विभागका अनुसार उक्त मेसिनलाई सिस्टमसँग जोड्न धेरै समय लागि रहेका कारण हालसम्म सञ्चालनमा आउन नसकेको हो ।

 

करिब ७ करोड लगानीमा खरिद गरिएको उक्त प्रिन्टरलाई सिस्टमसँग जोड्न अझै समय लाग्न सक्ने विभागका कम्प्यूटर इन्जिनीयर केशव राज गौतमले जानकारी दिए ।

 

‘सिस्टमलाई डाटासँग जोड्ने काम भइरहेको छ, त्यसकै लागि ढिला भइरहेको छ, कम्पनीले सिस्टमसाग जोड्ने काम भइरहेकोछ, कर्मचारीलाई सञ्चालन गर्न ट्रेनिङ दिइरहेका छाैं,’ गौतमले चाणक्य पोष्टसँग भने ।

 

तालिम लिन जानु पर्ने प्राविधिक तर, गए सचिव र उपसचिव

 

केही समय अघि विभागले मास प्रिन्टर सञ्चालन सिकाउन कर्मचारीलाई इटली पठाएको थियो । तर, त्यस टोलीमा विभागका आइटीबाट एक जना र अन्य सबै मन्त्रालयका सचिव तथा उपसचिव गएका थिए ।

 

कर्मचारीलाई मास प्रिन्टर चलाउन सिकाउनु पर्ने ठाउँमा मन्त्रालयका सचिव तथा उपसचिव जाँदा यसले मन्त्रालयबाटै मास प्रिन्टर सञ्चालनमा ढिलाई भएको देखिन्छ ।

 

विभागले मास प्रिन्टर ल्याएपछि असोज भित्र सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर, उक्त मास प्रिन्टर अझै कहिलेबाट सञ्चालनमा आउने भन्ने कुराको टुङ्गो लागेको छैन ।

 

हालसम्म विभागसँग ६ वटा साना प्रिन्टर रहेका छन् जुन सञ्चालन अवस्थामा रहेका छन् । उक्त प्रिन्टरबाट विभागसँग भएको साना प्रिन्टररहरुबाट एकै पटक धेरै लाइसेन्स छाप्न समस्या पर्ने भएपछि मास प्रिन्टर खरिद गरिएको हो ।

 

भारतीय कम्पनी मद्रास प्रिन्टररले सो मेसिन नेपालमा आपूर्ति गरेको हो । मद्रासले नै नेपालमा स्मार्ट लाइसेन्स छपाइ व्यवस्थापनको जिम्मा लिएको छ ।

 

मास प्रिन्टरले प्रतिघण्टा १ हजार ५ सय वटा लाइसेन्स छाप्न सक्छ । करिब ४ देखि ६ महिनामा पुराना सबै लाइसेन्स छापिसकेर नियमित अवस्थामा लैजान सकिने विभागका प्रवक्ता तिर्थराज खनालले जानकारी दिए ।

 

प्रिन्टर हुन बाँकी लाइसेन्सको संख्या हालसम्म ५ लाख भन्दा माथि पुगिसकेको छ । प्रिन्टरमा समस्या कायमै रहेपछि स्मार्ट सवारी लाइसेन्स वितरणमा देखिएको समस्या फुकाउन भन्दै सरकारले मास प्रिन्टर खरिदको निर्णय लिएको थियो । मेसिनसँगै स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने १० लाखवटा कार्ड पनि आपूर्ति गर्ने जिम्मा मद्रासले लिएको छ ।

 

हाल विभागले महिनामा ५० हजार लाइसेन्स समेत प्रिन्ट गर्न नसकेको अवस्था रहेको छ । यस्तो अवस्थामा प्रक्रिया पूरा गरेका सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न महिनौं कुर्नुपर्ने गरेको छ ।

 

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ । सबै कार्यालयहरुमा सेवाग्राहीको चाप रहेकाले लाइसेन्सको माग पनि ठूलो दरमा बढिरहेको छ ।

साइकल लेन, बुलेटप्रुफ गाडी र लोकतन्त्र Read Previous

साइकल लेन, बुलेटप्रुफ गाडी र लोकतन्त्र

देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा Read Next

देशकै ठूलो सौर्य प्लान्टको काम अन्तिम चरणमा