काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा साबुन, कागज, मदिरा, चामल लगायात दैनिक उपभोग्य वस्तु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष डण्डी, सिमेन्ट लगायत निर्माण सामग्री उत्पादन घटे पनि दैनिक उपभोग्य वस्तुको उत्पादन बढेको अध्ययनले देखाएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको गत वर्षको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार कागज उत्पादन सबैभन्दा धेरै ३२.१४ प्रतिशतले बढेको छ ।
त्यस्तै, गत वर्ष साबुन उत्पादन २२.२५ प्रतिशत, मदिरा १०.०५ प्रतिशत, चामल ४.१६ प्रतिशत, रोजिन २५.६२ प्रतिशत, आएन्टमेन्ट २७.१७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
गत वर्ष सिन्थेटिक उत्पादन सबैभन्दा धेरै ३८.८८ प्रतिशतले घटेको छ । त्यसैगरी, पशुदाना ३६.५६ प्रतिशत, बिजुलीका तार र केबुल ३४.४८ प्रतिशत, ड्राइ सिरप २९.६९, आल्मुनियम २९.४२, प्लाष्टिकका सामान २९.३९ प्रतिश, कंक्रिट २२.५८ प्रतिशत, चाउचा ११.३५, फलामे डण्डी १.८७ प्रतिशत र सिमेन्ट उत्पादन १.७० प्रतिशतले घटेको छ ।
आधा क्षमतामा मात्र चले उद्योग
गत वर्षमा लुम्बिनी प्रदेशका उद्योगहरू औसतमा आधा क्षमतामा मात्र संचालन भएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदन अनुसार गत वर्ष उद्योगहरूको औसत क्षमता उपयोग ५०.८२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उद्योगहरूको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो ।

विशेषगरी ड्राई सिरप, बिजुलीका तार तथा केबुल, साबुन, चामल, गहुँको पिठो, तोरीको तेल, फलामको छड/पत्ति तथा सामानहरू र औषधीजन्य उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले गत वर्षको सोही अवधिको तुलनामा समग्र उद्योगको औसत क्षमता उपयोगमा केही ह्रास आएको छ । गत वर्ष सबैभन्दा बढी मदिराजन्य उद्योगले ८५.७६ प्रतिशत र सबैभन्दा कम ड्राइ सिरप औषधी उत्पादन गर्ने उद्योगले ५.८४ प्रतिशत क्षमता
उपयोग गरेका छन् । यसैगरी औसत भन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरूमा सिमेन्ट, पशुदाना, कंक्रीट, आल्मुनियम, कागज, ट्याबलेट प्लाष्टिकको सामान, प्लाइवुड, रोजिन र मदिरा रहेका छन् ।
लुम्बिनी प्रदेश पछिल्लो समय औद्योगिक हबको रुपमा विकसित हुँदै गएको छ । यस प्रदेशको बुटवल र नेपालगञ्जमा दुई वटा औद्योगिक क्षेत्र संचालनमा छन् । यस्तै, रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) पनि संचालनमा छ । उद्योग विभागका अनुसार बुटवल औद्योगिक क्षेत्रको ७२ मध्ये ६४ वटा र नेपालगञ्ज औद्योगिक क्षेत्रका ३५ मध्ये ३३ वटा गरी जम्मा ९७ वटा उद्योगहरू सञ्चालनमा रहेका छन् ।
भारतीय सीमा नाकासँग जोडिएको,औद्योगिक कामदारहरूको सहज उपलब्धता, उपयुक्त औद्योगिक वातावरण हुनुले पछिल्लो समय लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी(ब.सु.प.), कपिलवस्तु र बाँके लगायतका जिल्लाहरू औद्योगिक हवको रुपमा विकास हुँदै गएको हो ।
आव २०७९/८० सम्ममा लुम्बिनी प्रदेशमा कुल ७५१ वटा उद्योगहरू दर्ता भई रु. ३ खर्ब २५ अर्ब २४ करोड लगानी भएको छ भने ७५ हजार ७४४ जनालाई रोजगारी प्रदान गरेको छ ।
