काठमाडौं । ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले सोमबार काठमाडौंको सिटटी सेन्टरमा विशेष समारोह आयोजना गरी आफ्नो १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको हो ।
वार्षिकोत्सव समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ लगायतको उपस्थिति थियो ।
वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो । डकुमेन्ट्रीमार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक महराले जानकारी दिइन् । साथै, मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
यस्तै, वार्षिकोत्सवको अवसरमा संस्थाका विद्यर्थाी तथा कर्मचारीलाई प्रोत्साहन गर्न विभिन्न अवार्ड प्रदान गरिएको थियो ।
फेसियल हाउसको केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा छ । यसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित), चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशथानमा छन् । यस्तै, उपत्यकाबाहिर, पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् ।संस्थाले आफ्नो नयाँ आउटलेट चितवनमा पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।