निर्यातमा सिमेन्टले जगाउँदै आशा, मासिक ३० करोडको विदेशिँदै

काठमाडौं । चालु आर्थिक वर्षमा समग्रमा नेपालबाट हुने निर्यात ६ प्रतिशतले घटे पनि सिमेन्ट निर्यातमा भने नयाँ रेकर्ड बनेको छ । गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा सिमेन्ट निर्यात ३३ गुणाले बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ५ महिना नेपालबाट १ अर्ब ४९ करोड २३ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३२०८.८९ हजार प्रतिशतले धेरै हो । गत वर्ष मंसिरसम्म कुल ४ करोड ५१ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो ।

चालु वर्षको ५ महिनामै गत वर्षभरीकोभन्दा दोब्बर सिमेन्ट निर्यात भएको हो । गत आव २०७९÷८० मा कुल ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।

विभागका अनुसार चालु आवको मंसिरसम्म ७५ करोड ६ लाख रुपैयाँ बराबरको २ लाख २ हजार १०९ मेट्रिकटन क्लिंकर (सिमेन्टको कच्चा पद्धार्थ) निर्यात भएको छ । त्यस्तै, यही अवधिमा ७४ करोड १७ लाख रुपैयाँको ११ लाख २७ हजार मेट्रिकटन तयारी सिमेन्ट निर्यात भएको छ ।

अर्थतन्त्रमा आएको शिथिलताका कारण स्वदेशी बजारमा सिमेन्टको खपत बढ्न नसके पनि भारतीय बजारमा माग बढ्दा निर्यातमा उत्साह देखिएको छ । जसले मुलुकको डरलाग्दो व्यापार घाटा घटाउन थोरै भए पनि भूमिका खेलेको छ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको र निर्यातको सम्भावना देखेपछि सरकारले गत वर्षदेखि निर्यातको ढोको खोलिदिएको थियो । सरकारले आव २०७९/८० को बजेटमार्फत सिमेन्ट, स्टील, प्लाइवुडलगायत वस्तु निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दाबढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । त्यसपछि नेपालबाट सिमेन्ट, प्लाइवुड लगायत वस्तु निर्यातको नयाँ ढोका खुलेको थियो ।

मासिक ३० करोडको सिमेन्ट निर्यात

चालु वर्षमा औसतमा मासिक ३० करोड रुपैयाँको सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ । चालु आवमा सबैभन्दा धेरै सिमेन्ट तथा क्लिंर निर्यात असोजमा ४३ करोड ४६ लाख रुपैयाँ बराबरको भएको थियो ।

त्यस्तै, मंसिरमा ३६ करोड, कात्तिकमा २७ करोड ७७ लाख, साउनमा २३ करोड ५० लाख र भदौमा १८ करोड ३५ लाख रुपैयाँ बराबरको क्लिंकर तथा सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ ।

२०७९ साउनदेखि सुरू गरेको सिमेन्ट तथा क्लिंकर निर्यात पहिलो महिना ४९ लाख र भदौमा ४० लाख रुपैयाँ बराबरको भएको थियो । २०७९ को असोजमा १ करोड ३६ लाख, कात्तिक १ करोड ३५ लाख, मंसिर ९१ लाख, पुसमा ४ करोड २० लाख, माघमा ८ करोड ७ लाख, फागुनमा १३ करोड ७६ लाख, चैतमा ११ करोड ७६ लाख रुपैयाँ बराबरको सिमेन्टजन्य वस्तु निर्यात भएको थियो ।

२०८० वैशाखमा १३ करोड १२ लाख, जेठमा १२ करोड ३२ लाख र असारमा १० करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरिएको विभागको तथ्यांक छ ।

आधादर्जन उद्योगले गर्छन् निर्यात

नेपालबाट सिमेन्ट निर्यात हुन थालेको डेढ वर्ष पुगेको छ । यस अवधिमा आधा दर्जन उद्योगले निर्यात थालेका छन् । २०७८ असार २४ गते पहिलोपटक पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारत निर्यात सुरू गरेको थियो ।

त्यसपछि, २०७९ असोज ३१ गतेदेखि अर्घाखाँची, २०८० जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी र २०८० गत भदौ २१ देखि सीजी सिमेन्टले निर्यात थालेका थिए । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले पनि गत मंसिर १६ गतेदेखि भारतमा क्लिंकर निर्यात सुरु गरेको छ ।

अन्य सिमेन्ट उद्योगहरुले पनि भारत निर्यातको तयारी गरिरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । सो प्रक्रियामा रहेकाले थप उद्योगले पनि चाँडै निर्यात थाल्ने संघको भनाइ छ । अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै अर्बौंको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ ।

नेपालमा हाल ५० बढी सिमेन्ट उद्योग संचालित छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।

 

काँकरभिट्टा-लौकही सडक एसियन मापदण्डको बनाइँदै, ३ वर्षमा सकिने Read Previous

काँकरभिट्टा-लौकही सडक एसियन मापदण्डको बनाइँदै, ३ वर्षमा सकिने

युनिभर्सल पावरको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

युनिभर्सल पावरको लाभांश घोषणा, बोनस र नगद कति ?