थप ५ नयाँ ट्रेकिङ रुटको अध्ययन गर्दै टान, जनवरीबाट संचालनमा ल्याइने

काठमाडौं । ट्रेकिङ एजेन्सी एसोशिएसन (टान) ले भ्रमण वर्ष २०२० का लागि नयाँ ट्रेकिङ रुटको अध्ययन सुरु गरेको छ । टानले ५ वटा नयाँ पद मार्गको अध्ययन सुरु गरेको हो ।

 

टानका उपाध्यक्ष चोलेन्द्र बहादुर कार्कीका अनुसार सुदुरपूर्व, अन्नपूर्ण लगायतका पिछडिएका स्थानहरुमा नयाँ पदमार्गको अध्ययन सुरु भएको हो ।

 

उनले जनवरी अघिनै नयाँ अत्यन्त आकर्षक ५ ट्रेकिङ मार्गको अध्ययन पुरा गरी पदमार्गको विषयमा प्रचारप्रसार गरिने बताए । ट्रेकिङ जान चाहानेलाई पर्यटन वर्षमा विशेष छुटको समेत व्यवस्था गरिने उनले जानकारी दिए ।

 

‘पर्यटन वर्षमा हामीले नयाँ पदमार्ग खुल्ला गर्ने छौँ, साथै केही स्पेशल छुटको पनि व्यवस्था गरिनेछ,’ कार्कीले चाणक्य पोष्टसँग भने ।

 

टानले यो पटक नेपाल घुम्न आउने मध्ये ७० प्रतिशत पर्यटकलाई पदयात्रा गराउने लक्ष्य राखेको छ । हाल नेपालमा आउने पर्यटन मध्ये ३० देखि ४० प्रतिशतले मात्र पद यात्रा गर्ने गरेका छन् ।

 

उनले पर्यटकलाई आकर्षण गर्न ट्रेकिङ शुल्कमा २० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिन लागेको जानकारी दिए ।

 

यससँगै टानले एडभेन्चर ट्राभल मार्टको समेत योजना बनाएको पूर्वअध्यक्ष नवराज दाहालले जानकारी दिए ।

 

नेपालमा १ हजार ८ सय बढि ट्रेकिङ एजेन्सीहरु रहेका छन् । ती मध्ये १ हजार ६ सय ट्रेकिङ कम्पनीहरु टानमा रहेका छन् ।

 

नेपालमा १ सयभन्दा बढि ट्रेकिङ रुटहरु रहेका छन् । ति मध्ये एभरेष्ट बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प, घोरेपानी पुन हिल, मनाङ, मुस्ताङ, मनास्तु लगायतका ट्रेकिङ रुटहरु धेरै रुचाइनेमा पर्छ ।

 

ट्रेकिङ जाँदा विदेशीहरुलाई न्यूनतम १२ सय डलरदेखि माथी रकम लिइने गरेको छ । यस्तै फुड लजिङ सहितको व्यवस्ता अनुसार ट्रेकिङ चार्ज फरक पर्ने टानका द्धितिय उपाध्यक्ष भरत सापकोटाले जानकारी दिए ।

 

उनले पर्यटकहरुले आफ्नो रुची र सुविधा अनुसार जस्तो पनि ट्रेकिङ गर्न सक्ने बताए ।

 

गत आर्थिक वर्षमा कुल ११ लाख ७३ हजार पर्यटन नेपाल भित्रिएका थिए । यो भ्रमण वर्ष २०२० मा कुल २० लाख पर्यटन भित्राउने योजना सरकारले बनाएको छ ।

‘अनियन्त्रीत मिसाइल’ बनेका मोदीलाई अर्थतन्त्रको धक्का Read Previous

‘अनियन्त्रीत मिसाइल’ बनेका मोदीलाई अर्थतन्त्रको धक्का

सिभिल बैंकले बोलायो साधरण सभा, बुक क्लोज कहिले Read Next

सिभिल बैंकले बोलायो साधरण सभा, बुक क्लोज कहिले