लक्ष्मी ग्रुपको ५० वर्ष : पुष्टकारीबाट सुरू भएको व्यवसाय अटो हुँदै स्टिलसम्म

काठमाडौं । नेपालको चर्चित व्यवसायिक घराना लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५० औं वर्ष पूरा गरेको छ । वि.सं. २०३० पुस ५ गतेदेखि व्ययवसाय सुरू गरेको यस ग्रुपले बिहीबार आफ्नो यात्राको ५ दशक पूरा गरेको हो ।

ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र उनका दाइ बुद्धिबहादुर श्रेष्ठले पोखराबाट सुरू गरेको व्यवसाय अहिले देशभर फैलिएको छ । अहिले ग्रुपको व्यवसाय बुबा गणेशको नेतृत्वमा दोस्रो पुस्ताले सम्हालिरहेको छ ।

५ दशक अघि मिठाई (पुष्टकारी) पसलबाट सुरू भएको ग्रुपको व्यवसाय अहिले डेढ दर्जन बढी क्षेत्रमा ‘डाभर्सीफाइ’ भएको छ । ग्रुपले अहिले चकलेट, डेरी, अटोमोबोइल, इलेक्ट्रोनिक्स, ट्रेडिङ, प्लास्टिक, स्टिल लगायत उद्योग संचालनमा छन् ।

ग्रुप अन्तर्गत सुजल फुड प्रालि, सुजल डेरी प्रालि, सुजल प्लास्टिक, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाईको आधिकारिक बिक्रेता), इसुजु, सिद्धि लक्ष्मी स्टिल्स, जयमाँ इन्टरकन्टिनेन्टल, लगायत उद्योग, व्यवसायहरु पर्दछन् ।

मिठाइ व्यापारबाट सुरू भएको लक्ष्मीको व्यवसायिक यात्रा क्रमशः उद्योगतर्फ मोडियो । वि.सं. २०३९ सालमा शुभ लक्ष्मी कन्फेक्शनरी कम्पनी खोली लोफ्टी क्यान्डी उत्पादन थालेको थियो । २०४६ सालमा भारतले नाकाबन्दी लगाएपछि लक्ष्मीले देशलाई प्लाष्टिकमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ जय पोलिथिन उद्योग खोलेको थियो ।

२०४८ मा सूर्य कन्फेक्शनरी उद्योग स्थापना गरेको ग्रुपले २०५४ मा चर्चित चकलेट ब्रान्ड बजारमा ल्यायो । ग्रुपले आफ्नो व्यवसाय विस्तारको क्रममा २०६१ सालमा दूग्धजन्य उद्योगको हात हाल्यो । सुजल डेरी स्थापन गरी पाश्चराइज्ड दूधदेखि लिएर चिज, पनीर, दही, अन्य विभिन्न दुग्धजन्य उत्पादनहरू उत्पादन गर्दै आएको छ ।

डेरी उद्योग संचालनमा ल्याएको १ वष्र्मपछि ग्रुपले अटोमोबाइल व्यवसाय सुरू गर्यो । २०६३ देखि अटोमोबाइल्स व्यसाय संचालन गर्दै आएको ग्रुपले २०६६ देखि हुण्डाईको नेपालको आधिकारिक वितरकको रूपमा रहँदै आएको छ ।

सन् २०१६ मा इलेक्ट्रोनिक्स उद्योगमा प्रवेश गरेको लक्ष्मीले २०७६ देखि सिद्धि लक्ष्मी स्टील्स उद्योग स्थापन गरेको थियो । विगत ३ वर्षदेखि उद्योगबाट उत्पादित डण्डीहरू बजारमा बिक्री हुँदै आएका छन् । उद्योगको वार्षिक उत्पादन क्षमता २ लाख टन रहेको छ ।

देशभर डेढ दर्जन बढी कम्पनी संचालनमा ल्याएको ग्रुपले ३ हजार बढीलाई प्रत्यक्ष र हजारौंलाई अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ । साथै, राज्यलाई वर्षेनी करोडौं रुपैयाँ कर तिर्दै आएको छ । आगामी दिनमा पर्यटन लगायत सेवा क्षेत्रमा लगानी विस्तार गर्ने ग्रुपको योजना छ ।

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकियो Read Previous

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकियो

ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित Read Next

ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित