काठमाडौं । विभिन्न मितिमा हराएका १५ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १२ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका सानेपा, सातदोबाटो, स्वयम्भु, सुकेधारा, कोटेश्वर, बालाजु, सोह्रखुट्टे, किर्तिपुर, लगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।
सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।