१४० मेगावाटको तनहुँ जलविद्युतको मुख्य सुरुङ खन्ने काम अन्तिम चरणमा

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ ।

आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब २१० मिटर सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।

आयोजनाको मुख्य सुरुङतर्फ कुल १ हजार ४५६ मिटर खन्नुपर्नेमा हालसम्म १ हजार २४६ मिटर खन्ने कार्य सम्पन्न भएको छ । सुरुङ खन्ने र ड्याम निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यलाई तीव्रता दिइएको उनले बताए । दसैँ, तिहारलगायत चाडपर्वको समयमा पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकाले समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाको हालसम्म ४२ प्रतिशत आर्थिक प्रगति भएको छ । प्रत्येक महिनामा एक प्रतिशत कार्य प्रगति हुने गरेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिए । तीनवटा प्याकेजमा गरी दैनिक १ हजार ५०० हाराहारीमा जनशक्ति परिचालन गरी आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएको हो ।

ट्रान्समिटरको कार्य पुनः सुरु

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–३ अन्तर्गत ट्रान्समिटरको कार्य रोकिएको करिब छ महिनापछि पुनः सुरु गरिएको छ । वनको नीतिगत समस्याका कारण रोकिएको निर्माण कार्य पुनः सञ्चालन भएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । उक्त कार्यका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता गरी विसं २०७५ फागुन १० बाट कार्यान्वयनमा आएको थियो । उक्त आयोजनामा पर्ने ३४.७ किमी प्रसारण लाइनमा ९४ वटा टावरमध्ये ७० टावरको जग हालिएको छ भने ३४ टावर खडा गरिसकिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । सो रकममध्ये एशियाली विकास बैंकले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनमा 'रिफ्लेक्टिभ स्टिकर' Read Previous

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनमा 'रिफ्लेक्टिभ स्टिकर'

खानेपानी संस्थानले खुलायो ६१ जनाका लागि जागिर Read Next

खानेपानी संस्थानले खुलायो ६१ जनाका लागि जागिर