बाँके । सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी साधनमा ‘ रिफ्लेक्टिभ स्टिकर’ टाँस गरेको छ । चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुनसक्ने जोखिमलाई ख्याल गर्दै सवारी साधन र विद्यार्थीको झोलामा ‘स्टिकर’ टाँस गरेको हो ।
मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझी चोकमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले अभियानको पहिलो दिन मङ्गलबार ३०० सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जानकारी दिए।
उनले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरुमा स्टिकर टाँस गरिएको बताए।
‘राति हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नका लागि हामीले नम्बर प्लेट नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँसेका हौँ,’ प्रवक्ता डाँगीले भने ।