बैंकमा पैसा थुप्रिएपछि दिनदिनै तान्नु पर्ने बाध्यतामा राष्ट्र बैंक, १७ दिनमै खिच्यो सवा खर्ब

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम भएपछि राष्ट्र बैंकले दिनदिनै पैसा खिच्नुपर्ने अवस्था आएको छ । बढ्दो निक्षेपको तुलनामा कर्जा विस्तार हुन नसक्दा अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले विभिन्न माध्यमबाट प्रणालीको पैसा खिचेको हो ।

पछिल्लो १७ दिनको अवधिमा मात्रै राष्ट्र बैंकले ८ पटक (आज खिच्नेसहित)मा गरी प्रणालीबाट १ खर्ब ३० अर्ब रुपैयाँ तानिसकेको छ । यद्यपि, यस अवधिमा प्रणालीबाट खिचेको केही रकम परिपक्क भई फेरि प्रणालीमै गएको छ ।

राष्ट्र बैंकले निश्चित अवधिमा लागि प्रणालीबाट तरलता प्रशोचन गर्ने गर्दछ । केन्द्रीय बैंकले रिभर्स रिपो, निक्षेप संकलन बोलकोबलमार्फत प्रणालीको तरलता खिच्ने गर्दछ । राष्ट्र बैंकले अहिले निक्षेप संकलन मार्फत ७ दिन र १४ दिनका लागि प्रणालीबाट पैसा खिचेको हो । बजारमा तरलता अभाव हुँदा विभिन्न माध्यमबाट पैसा उपलब्ध गराउने राष्ट्र बैंकले अधिक तरलता हुँदा खिचेर तरलता व्यवस्थापन गर्दछ ।

राष्ट्र बैंकले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म ८ पटक निक्षेप खिचेको हो । हिजो (पुस ३ गते) मात्रै निक्षेप संकलनमार्फत १० अर्ब खिचेको राष्ट्र बैंकले आज (पुस ४ गते) २५ अर्ब रुपैयाँ खिच्दैछ । यो रकम १४ दिनका लागि खिचेको हो ।

त्यसैगरी, निक्षेप संकलन मार्फतै पुस १ गते १० अर्ब (७ दिन), मंसिर २८ गते २० अर्ब १४ दिन), मंसिर २४ गते २० अर्ब (७ दिन), मंसिर २१ गते २५ अर्ब १४ दिन, मंसिर २० गते १० अर्ब (७ दिन) र मंसिर १७ गते १० अर्ब रुपैयाँ (७ दिन) तानेको छ । राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत निक्षेप संकलन दर ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारे पनि पछिल्लो समय सोभन्दा कम ब्याजदरमा बोलकबोल भइरहेको छ ।

अर्थतन्त्रमा आएको मन्दीका कारण आर्थिक गतिविधि बढ्न नसक्दा कर्जाको माग बढेको छैन । रेमिट्यान्स आप्रावह उल्लेख्य बढ्दा र आयात घट्दा बैंकिङ प्रणालीमा निरन्तर निक्षेप बढिरहेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवमा निक्षेप वृद्धिदर १४ प्रतिशत रहेको छ । चालु आवको ५ महिनामा मात्रै प्रणालीमा झन्डै पौने २ खर्ब निक्षेप थपिएको छ ।

मंसिर मसान्तसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप ६० खर्ब ६० अर्ब पुगेको छ । यस अवधिमा लगानीयोग्य रकम मात्रै ६ खर्ब बढी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । हाल बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतभन्दा तल झरेको छ । जबकि राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशत तोकेको छ ।

पछिल्लो समय राष्ट्र बैंकको नीतिगत लचकता र घट्दो ब्याजदरका कारण कर्जाको माग केही बढ्न थालेको छ । तर, जुन अनुपातमा निक्षेप बढिरहेको छ, सो अनुपातमा कर्जाको माग एकदम न्यून रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आवमा निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर २.१ प्रतिशत रहेको छ । कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ९९ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेका राष्ट्र बैंकले जनाएको छ ।

कर्जाको माग बढाइ अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले दुई साता अघि चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै थप लचकता अपनाएको छ । ब्याजदर घटाउन राष्ट्र बैंकले बैंकदर ७।५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दर ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ । त्यस्तै, रियल इ–स्टेट, सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

राष्ट्र बैंकको पछिल्लो कदमको प्रभाव देखिन थालिसकेको छ । बैंक तथा वित्तीय संस्थाले पुसका लागि निक्षेपको ब्याजदर घटाएका छन् भने आगामी महिनाहरू पनि घट्दै जाने बताएका छन् । कायम अधिक तरलता र घट्दो ब्याजदरले क्रमशः कर्जाको माग बढ्ने बैंकरहरूको अपेक्षा छ ।

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित Read Previous

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?