४ महिनामा वाणिज्य बैंकले कमाए पौने २१ अर्ब नाफा, कुनले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) वाणिज्य बैंकहरूले पौने २१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकसम्म २० वटा वाणिज्य बैंकहरूले २० अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।

कात्तिक महिनामा मात्रै वाणिज्य बैंकहरूले ७ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत असोजसम्ममा बैंकहरूले कुल १३ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका थिए भने कात्तिकमा बढेर २० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

चालु आवको असोजमा खस्किएको बैंकहरूको नाफा कात्तिकमा सुधार  आएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि कर्जाको माग नहुँदा बैंकहरूले उल्लेख्य रुपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् । जसको असर नाफामा देखिएको हो ।

अर्थतन्त्रमा आएको संकुचन र महँगो ब्याजका कारण कर्जाको माग बढ्न नसकेको व्यवसायीको भनाइ छ । यद्यपि, पछिल्लो समय नेपाल राष्ट्र बैंकले गरेको नीतिगत सहजतका कारण बैंकको ब्याजदर घट्दो क्रममा छ भने कर्जाको माग पनि क्रमशः बढ्न थालेको छ ।

चालु आवको ४ महिनामा वाणिज्य बैंकहरूले करिब १ खर्ब मात्रै कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार वर्ष दिनमा ५ खर्ब ६० अर्ब बढी कर्जा लगानी हुनुपर्छ । तर, ४ महिनामा लक्ष्यको करिब १८ प्रतिशत मात्र कर्जा विस्तार गरेको छ ।

यस्तै, आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा पनि नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् । समयमै कर्जा असुली नहुँदा खराब कर्जा बढ्न जाँदा बैंकहरूको प्रोभिजनिङ दायित्व बढ्छ ।

पछिल्लो समय सरकार र राष्ट्र बैंकले गरेका नीतिगत लचकताले अर्थतन्त्र केही चलायमान हुन थालेको संकेत देखिएको छ । घट्दो ब्याजदर र आर्थिक गतिविधि बढ्न थालेकाले आगामी दिनमा कर्जाको माग बढ्ने बैंकहरूको अपेक्षा ।

कुन बैंकले कति कमाए ?

कात्तिकसम्म नबिल बैंकले सर्वाधिक २ अर्ब १६ करोड खुद नाफा कमाएको छ । ९ वटा बैंकले १ अर्ब बढी नाफा कमाएका छन् । ग्लोबल आइएमई १ अर्ब ९४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा १ अर्ब ८६ करोड, प्राइम कमर्शियल १ अर्ब ५३ करोड, हिमालयनले १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, एनआइसी एशिया १ अर्ब ३७ करोड, एनएमबी १ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब २० करोड, एभरेष्ट बैंक १ अर्ब ८ करोड र प्रभु बैंकले १ अर्ब ५ करोड नाफा कमाएका छन् ।

समीक्षा अवधिमा ८ बैंकको नाफा १ अर्बभन्दा कम रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड ९८ करोड, कुमारी ८८ करोड, सानिमा ७७ करोड, माछापुच्छ्रे ६७ करोड, नेपाल बैंक ६६ करोड, नेपाल एसबीआई ६० करोड, सिटिजन्स ५८ करोड, लक्ष्मी सनराइज ५१ र सिद्धार्थ बैंकले ३३ करोड नाफा कमाएको छ ।

यस अवधिमा सरकारी स्वामित्वको कृषि विकास बैंक भने नोक्सानीमा गएको छ । कात्तिकसम्म कृषि विकास २७ करोड ८८ लाख रुपैयाँ घाटामा छ ।

ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणाली सुरू Read Previous

ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टू पे’ भुक्तानी प्रणाली सुरू

आइपीओ जारी गरेकै वर्ष हाथवे इन्भेष्टमेन्टको लाभांश, बुकक्लोज कहिले ? Read Next

आइपीओ जारी गरेकै वर्ष हाथवे इन्भेष्टमेन्टको लाभांश, बुकक्लोज कहिले ?