काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकको तुलनामा मंसिरमा सेयर कारोबार बढ्दा सरकारको आम्दानी साढे ३ गुणाले बढेको छ ।
केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)का अनुसार सरकारले मंसिरमा सेयर कारोबारबाट पूँजीगत लाभकरबापत ३० करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकि अघिल्लो महिना कात्तिकमा सरकारले जम्मा ८ करोड ४१ लाख रुपैयाँ पूँजीगत लाभकर पाएको थियो । कात्तिकको तुलनामा मंसिरमा पूँजीगत लाभकर २६३ प्रतिशतले बढेको हो ।
मंसिरमा अल्पकालीन लगानीकर्ताले १४ करोड १४ लाख, दीर्घकालीन लगानीकर्ताले ९ करोड १२ लाख र संस्थागत लगानीकर्ताले ७ करोड १४ लाख रुपैयाँ पूँजीगत लाभकर तिरेको सीडीएससीले जनाएको छ । हाल अल्पकालीन लगानीकर्ता (१ वर्षभन्दा कम अवधि)ले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले (१ वर्ष बढी) ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।
कात्तिकको तुलनामा मंसिरमा नेप्से परिसूचक झन्डै १५० अंकले बढेको छ भने कारोबार रकममा पनि सुधार आएको छ । सूचक र कारोबार बढ्दा लगानीकर्ताहरूको नाफा पनि बढेकाले सरकारले पाउने पूँजीगत लाभकर बढेको हो ।
नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति समीक्षा मार्फत बैंकदर र सेयर कर्जाको जोखिमभार घटाएपछि मंसिर अन्तिम साता नेप्सेले डेढ सय अंकको फड्को मारेको थियो । त्यस्तै, कारोबार रकम पनि दैनिक ४ अर्ब बढी भएको थियो ।