काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । गत मंगलबारदेखि उकालो लागेको नेप्से आज लगातार पाँचौं दिन बढेको हो ।
नेपाल राष्ट्र बैंकले मंसिर २२ गते चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत नीतिगत लचकता अपनाएपछि त्यसयता नेप्सेले लय समातेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंकदर र सेयर धितो कर्जाको जोखिम भार घटाएको थियो । त्यसयताका ७ कारोबार दिनमै नेप्सेले २०० अंकको फड्को मारिसकेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो ।त्यस्तै, ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको थियो ।
घट्दो ब्याजदरले पनि लगानीकर्ताको मनोबल उकासेको छ । राष्ट्र बैंकले सहजीकरण गरिदिएसँगै बैंक तथा वित्तीय संस्थाले पुसका लागि ब्याजदर घटाएका छन् । जसको सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।
नेप्से तल्लो विन्दुमा आएको र समग्र बजारलाई प्रभाव पार्ने तत्वहरुमा सुधार आएकाले लगानीकर्ताको मनोवल बढ्दा सेयर बजारले लय समातेको हो । सर्वोच्च अदालतले शुक्रबार मर्जर र एफपीओ जारी गरेका कम्पनीले बार्गेन पर्चेज गेनबापत कर तिर्नुपर्ने आदेशपछि बजार प्रभावित हुने आकलन थियो । तर, त्यसको प्रभाव नगन्य मात्रमा देखियो ।
सोमबार नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ विन्दुमा पुगेको छ । नेप्सेले ३ महिनापछि २०५० विन्दुमा उक्लेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज ६ अर्ब ८६ करोड बढीको सेयर किनबेच भएको छ । यो ११ महिना अर्थात् गत माघदेखि यताकै उच्च हो ।
आज ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । आज माइक्रोफाइनान्स समूहमा उछाल आएको छ । यस समूहको परिसूचक ५.५३ प्रतिशतले बढेको छ ।
आज पनि हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोनापुर सिमेन्ट २० करोड र सोल्टी होटलको १८ करोड बढीको कारोबार भएको छ ।
उच्च अंकले बढेको बजारमा आज ९ कम्पनीको सेयर मूल्य बढेको छ । बोटलर्स नेपाल (बालाजु), सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, बीपीडब्ल्यू लघुवित्त र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरि लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।