काठमाडौं । काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयले ४९ औं दीक्षान्त समारोहका कारण सवारी आवगमन अस्तव्यस्त भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मुख्यगरी माइतिघर, त्रिपुरेश्वर, कालिमाटी, कुपण्डोल, नयाँबानेश्वर, भद्रकाली, पुतलीसडक लगायत ठाउँमा सवारी आवतजावत प्रभावित भएको छ ।
त्रिवि दीक्षान्त समारोहमा आज करिब साढे १२ हजार विद्यार्थी दीक्षित हुँदैछन् । सो समारोहमा उपस्थित हुन विद्यार्थी र उनीहरूका अभिभावक एकैपटक आउँदा जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौंका मुख्य सडकमा जाम बढेपछि ट्राफिक प्रहरीले ठाउँठाउँबाट सवारी डाइभर्ट गरेको छ । प्रहरीले कालिमाटी, तीनकुने लगायत ठाउँबाट त्रिपुरेश्वर आउने गाडीहरू रोकेको छ । जसकारण गन्तव्यमा हिँडेका सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ ।