तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रले बाँधको किनारमा रहेको ९ रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरेको छ ।
६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाको बाँधले त्यस क्षेत्रका बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गरी मुआब्जा दिन सुरु गरिएको हो ।
केन्द्रले ९ रोपनी १० आना २ पैसा ३ दाम जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्न थालेको केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए ।
मानवीय क्षति हुने उच्च जोखिम देखिएकाले त्यस ठाउँका सर्वसाधारणले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएकामा अहिले उनीहरुको माग पूरा भएको छ ।
उक्त स्थानका तेह्र जनाको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएअनुसार रु २१ करोड ७८ लाख ८५ हजार ९६७ प्रदान गरिनेछ । जग्गाका लागि रु १७ करोड ८७ लाख ८६ हजार ६५२ र घरटहराका लागि रु ३ करोड ९० लाख ९९ हजार ३१५ वितरण गरिने केन्द्रले जनाएको छ ।
गत साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार यसअघि ८० प्रतिशत भन्दाबढी मुआब्जा वितरण गरिसकिएको जनाइएको छ । प्रतिरोपनी रु १ करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्लाा प्रशासन कार्यालयले जनाएको छ ।