काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको अवस्थामा नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन नीतिगत सहजीकरण गरिदिएसँगै बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको थियो ।
बैंकहरूले कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । प्रणालीमा पर्याप्त लगानी योग्य रकम भए पनि कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले लगातार ब्याज घटाएका हुन् ।
पुसका लागि २० मध्ये १८ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने दुई बैंकले मंसिरकै ब्याजदर यथावत राखेका छन् । अरु सबै बैंकले निक्षेपको ब्याजदर घटाउँदा सानिमा र प्रभु बैंकले भने अघिल्लै महिनाको यथावत राखेका छन् ।
मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.६४२ प्रतिशत विन्दु र संस्थागततर्फ ०.६५९ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । मंसिरमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.६६३ प्रतिशत रहेकोमा पुसमा घटेर ८.९९१ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर मंसिरमा ७.५४७ प्रतिशत रहेकोमा पुसमा ६.८८८ प्रतिशतमा झरेको छ ।
पुसमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २ प्रतिशतसम्म फरक भएको छ । प्राइम कमर्शियलले सर्वाधिक १० प्रतिशत र एभरेष्टले सबैभन्दा कम ८ प्रतिशत ब्याजदर दिने भएको छ ।
अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार तेस्रो महिना हो । बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।
साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।
कुनको कति ?
पुसमा सबैभन्दा धेरै निक्षेपको ब्याजदर हिमालयन बैंकले घटाएको छ । मंसिरकोे तुलनामा पुसमा हिमालयनले २ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। मंसिर महिनामा १०.६०३ प्रतिशत रहेको हिमालयनको व्यक्तिगत मुद्दतीको ब्याजदर पुसमा ८.६०३ प्रतिशतमा झारेको छ ।
त्यसैगरी, एभरेष्ट, एनएमबी, लक्ष्मी सनराइज, नेपाल एसबीआई र माछापुच्छ्रे बैंकले पनि समान १ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । पुसमा हिमालयन, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, नबिल, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल र एभरेष्ट बैंकको ब्याजदर ८ देखि ९ प्रतिशतभन्दा कम रहेको छ ।
त्यस्तै, नेपाल एसबीआई, कुमारी, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, कृषि विकास लगायत बैंकको ब्याजदर ९ देखि १० प्रतिशतको बीचमा रहेको छ ।
पुसमा संस्थागत मुद्दती निक्षेमा बैंकहरूले न्यूनतम ५.२५ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।