सहुलियतपूर्ण कर्जा लिनेको संख्या न्यून

काठमाडौं । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियत कर्जामा युवाहरुको आकर्षण कम देखिएको छ ।

 

सरकारले ब्याज अनुदान सहित विभिन्न ७ शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको थियो । हाल यसमा २ क्षेत्र थप गरी ९ शीर्षकमा सहुलियत कर्जा पाइने व्यवस्था गरिएको छ ।

 

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

 

हालै राष्ट्र बैंकले कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको हो ।

 

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २० हजार ६५९ जनाले बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियतपूर्ण कर्जा लिएका छन् । यस अन्तर्गत ऋणीलाई ३९ अर्ब ३० करोड कर्जा प्रवाह भएको छ ।

 

सहुलियतपूर्ण कर्जा लिनेहरुमा अधिकांशले व्यावसायीक कृषि कर्जा लिएको छन् । कूल साढे २० हजार सहुलियत कर्जा लिनेहरुमध्ये ९१ प्रतिशत अर्थात् १८ हजार ८०५ ऋणीले कृषि कर्जा लिएका छन् । यो कर्जामा बैंकहरूले ३८ अर्ब २० करोड कर्जा लगानी गरेका छन् ।

 

असोजसम्म १ हजार ८५४ जनाले अन्य विभिन्न शीर्षकमा १ अर्ब १० करोड सहुलियत कर्जा लिएका छन् । जसमा ३५ जनाले शिक्षित युवा स्वरोजगार कर्जा, ८० जनाले विदेशबाट फर्केका युवा परियोजना, ६५ जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाएका छन् ।

 

यस्तै, १ सय ४ जनाले दलित समुदाय व्यवसाय विकास कर्जा, १ सय ७५ जनाले भूकम्पपीडितका लागि निजी आवास कर्जा र १ हजार ३ सय ९५ जनाले महिला उद्यमशीलता कर्जा पाएका छन् ।

 

बैंकहरुले सहुलियतपूर्ण कर्जा प्रवाह गर्न चासो नदेखाएकाले यस्तो ऋण लिनेको संख्या बढ्न नसकेको हो । व्यावसायीक प्रयोजनका लागि सहुलियतपूर्ण कर्जा लिन बैंकमा जाँदा सहजै नपाउने सेवाग्राहीले गुनासो गरेका छन् ।

 

बैंकहरुले भने ऋण लिन आउने ग्राहकहरुले आवश्यक प्रक्रिया पूरा नगरी आउने गरेकाले यस्तो कर्जा प्रवाह गर्न समस्या भएको जनाएका छन् ।

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ अफरका २ विजेतालाई पुरस्कार वितरण Read Previous

एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ अफरका २ विजेतालाई पुरस्कार वितरण

अब बैंकले अनिवार्य सहुलियतपूर्ण कर्जा दिनैपर्ने, राष्ट्र बैंकले तोक्यो कर्जा संख्या Read Next

अब बैंकले अनिवार्य सहुलियतपूर्ण कर्जा दिनैपर्ने, राष्ट्र बैंकले तोक्यो कर्जा संख्या