श्रीलंका बन्ने त्रासबाट रेकर्ड बनाउँदै विदेशी मुद्रा संचिति, यस कारण बढ्यो

काठमाडौं । डेढ वर्षअघि विदेशी मुद्रा संचिति घट्दै जाँदा नेपाल पनि ‘श्रीलंका जस्तै’ बन्ने भयो भन्ने आंकत सृजना भएको थियो । राजनीतिक दलका नेतादेखि व्यापारीसम्म देशको हालत अबै श्रीलंकाको जस्तै हुन्छ भन्थे । विदेशी मुद्रा संचिति इतिहासकै कम अर्थात् करिब ६ महिनाको वस्तु तथा सेवाको आयात मात्र धान्ने अवस्था थियो ।

तर, डेढ वर्षपछि अहिले विदेशी मुद्रा संचितिले हालसम्मकै धेरैको रेकर्ड बनाएको छ अर्थात् मजबुत अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको कात्तिकसम्म राष्ट्रिय ढिकुटीमा १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा संचित छ । जुन रकममा आधारमा इतिहासकै धेरै ।

त्यस्तै, अमेरिकी डलर संचिति पनि ३ वर्ष यताकै धेरै पुगेको छ । कात्तिसम्म १२ अर्ब ७५ करोड डलर संचिति छ । यसअघि सन् २०२१ जनवरीमा १२ अर्ब ७७ डलर संचिति करोड थियो । संचित विदेशी मुद्राले कात्तिकको आयातलाई आधार मान्दा १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

लगातार रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, आयातमा आएको गिरावट, पर्यटक आवगमनमा भएको वृद्धि लगायतका कारणले सरकारको ढुकुटीमा डलर संचिति बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेल अघिल्लो महिनाको तुलनामा आयात घट्दै गएको र रेमिट्यान्स आप्रवाह वृद्धि भएका कारण डलर संचिति बढेको बताउँछन् । ‘रेमिट्यान्स आप्रवाह बढ्दै गएको छ । आयात अघिल्लो महिनाको तुलनामा घट्दै गएको छ । त्यसैले बीओपी बढ्दै गएको हो,’ उनले भने ।

गत वर्षको दोस्रो त्रैमासदेखि विदेशी मुद्रा संचिति बढ्दै गएको तथ्यांकले देखाउँछ । अर्थतन्त्रमा देखिएको शिथिलता र बाह्य क्षेत्रको चाप कम गर्न लिइएका नीतिगत प्रयासहरूले विदेशी मुद्रा संचितिको उचाइ निरन्तर बढाउँदै लगेको हो ।

विदेशी मुद्रा उच्च हुनु भनेको आन्तरिक अर्थतन्त्रमा उत्पादन बढाउने लगानीको अवसर भएको प्रवक्ता पोखरेल बताउँछन् । ‘विदेशी मुद्राको संचिति राम्रो हुँदा उत्पादनमुलक लगानीको लागि साधनको उपलब्धता पनि हो । देशभित्रै उत्पादन हुने लगानीका लागि उपयुक्त अवसर हो । तर, आयात गर्नमा लगानी गरियो भने फेरि उही अवस्था आउँछ,’ उनले भने ।

श्रीलंका बन्ने त्यो त्रास

डेढ वर्षअघि विदेशी मुद्रा संचितिको अभावमा श्रीलंका टाँटपल्टियो । आर्थिक संकटका अन्य विभिन्न कारणहरू भए पनि विदेशी मुद्रा संचिति नहुँदा औषधि, खाद्य र पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरू समेत आयात गर्न नसक्ने अवस्थामा पुग्यो ।

नेतृत्वले गलत नीति, कुशासन र अर्कोतिर कोभिडले धरासाय बनेको पर्यटन व्यवसायले आवश्यक मात्रामा मुद्रा आर्जन गर्न सकेन् । त्यसको कष्टकर अवस्था नागरिकले अहिलेसम्म भोगिरहेका छन् भने अन्तर्राष्ट्रिय दातृ निकायको सहारामा केही तंग्रिने प्रयास श्रीलंकाले अहिले गरिरहेको छ । श्रीलंकाको विदेशी मुद्रा संचितिले ढुकुटी रित्तिनुको एउटा प्रमुख कारण कोभिडले धरासायी भएको पर्यटन व्यवसाय थियो ।

सन् २०१९ को अन्तिमतिर फैलिएको कोभिडले विश्व अर्थतन्त्रलाई नराम्रोसँग हिट गरेको थियो । त्यसका वाछिटा अहिले समेत मेटिएका छैनन् । कोभिडको असरबाट स्वभाविक रुपमा नेपाली अर्थतन्त्र पनि अछुतो रहेन् । लामो समयको लकडाउन, आर्थिक सुस्तता र बजारमा माग बढाएर व्यापार व्यवसाय पुरानै अवस्थामा फर्काउने उदेश्यले सरकार र नेपाल राष्ट्र बैंकले विस्तारकारी नीतिहरू लिए ।

बजारमा पूँजी प्रवाह खुला छोड्दा निजी क्षेत्रबाट हुने कर्जा प्रवाह र उच्च खपतले वैदेशिक व्यापार घाटाले सोही अनुसार रेकर्ड बनाए । आर्थिक वर्ष २०७८/७९ मा नेपालको व्यपार घाटा हालसम्मकै उच्च पुग्यो भने कर्जा विस्तार पनि सोही रफ्तारमा वृद्धि भएको थियो । अनियन्त्रित कर्जा प्रवाह र व्यापार घाटा सरकारको विस्तारकारी नीतिले थेग्न सकेन् ।

२०७९ मा सरकार र राष्ट्र बैंक आफैले कार्यान्वयनमा ल्याएको खुकुलो नीतिबाट झस्कीए । त्यत्तिबेला विदेशी मुद्रा संचिति साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्नेसम्म झरिसकेको थियो ।

विदेशी मुद्रा संचितिमा चरम दबाब देखिएपछि नेपाल श्रीलंकको जस्तै टाँटपल्टिने अवस्थामा पुगेको चर्चा गर्न थालिएको थियो । बाह्य क्षेत्रको दबाबले नेपालको अर्थतन्त्र श्रीलंका बन्ने त्रास त्यसपछि टरिसकेको छ । ‘आर्थिक गतिविधि र निर्माणको काम बढ्न थालेपछि त्यसले आयात बढाउँछ र फेरि विदेशी मुद्रामाथिको दबाब पर्न जान्छ,’ प्रवक्ता पोखरेलले भने ।

बाह्य दबाब टार्दा आन्तरिक दबाब

विदेशी मुद्रा संचितिमा परेको दबाब टार्न खोज्दा त्यसको दबाब अर्कोतिर आन्तरिक अर्थतन्त्रमा देखिएको छ । २०७९/८० को मौद्रिक नीतिमा राष्ट्र बैंकले अर्थतन्त्रमा देखिएको बाह्य दबाब हटाउन मौद्रिक नीतिको कार्यदिशा कसिलो बनायो । त्यसपछि नीतिगत अंकुश लगाउँदै लगेर बजारमा माग घटाउने नीति लियो ।

सरकारले आयात प्रतिबन्ध र राष्ट्र बैंकले कर्जा विस्तार, प्रतीतपत्र मार्फत वस्तु आयातमा कडाइ गर्दै आए । विनिमय संचिति बढाउनकै लागि दश महिना सवारी साधन लगायत अत्यावश्यक बाहेकका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसको असर अहिलेसम्म आन्तरिक बजारमा देखिएको छ ।

बजारमा माग घटाउन ब्याजदर वृद्धि र पूँजी परिचालनमा राष्ट्र बैंकले नियन्त्रण गरेपछि एकातिर आयातित वस्तुको मूल्य चुलियो भने अर्कोतिर ढुवानी लागत बढेर त्यसको प्रभाव मूल्यवृद्धिमा देखियो । बैंकहरूले ऋण लगानी बढाउन नसक्दा समग्र अर्थतन्त्रमा शिथिलताको अवस्था देखिएको छ । जुन अहिलेसम्म तंग्रिन सकेको छैन । गत वर्ष र यस वर्षमा बैंकहरूले विस्तार गरेको ऋण प्रवाहले पनि यसलाइ प्रष्ट देखाउँछ ।

 

उखुको मूल्य निर्धारणप्रति किसान असहमत, मूल्य नबढाए उद्योग संचालन गर्न नदिने Read Previous

उखुको मूल्य निर्धारणप्रति किसान असहमत, मूल्य नबढाए उद्योग संचालन गर्न नदिने

कुमारी बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नदिने Read Next

कुमारी बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नदिने