काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।
प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै युनाइटेड टेलिकम (यूटीएल), म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको जानकारी गराएको हो । यी तीनै कम्पनीले इन्टरनेट (इमेलसहित)को दूरसञ्चार सेवा प्रदायकको लाइसेन्स लिएका थिए ।
तीनै कम्पनीले तोकिएको समयभित्र नवीकरणबापतको दस्तुर दाखिला गरी नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।
ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।
