काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधारण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले सर्वसाधरणलाई अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरले २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन पाइने छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर ए’ रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
कम्तीमा १० कित्ता पाउने सम्भावना
कम्पनीको आइपीओमा आवेदन दिनेले कम्तीमा १० कित्ता पाउने देखिन्छ । धितोपत्र बाँडफाँट नियमावली अनुसार भागपुगेसम्म सबै आवेदकलाई कम्तीमा १० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।
सो अनुसार सबैलाई १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा २४ लाख ९० हजार जनालाई बाँड्न पुग्छ । पछिल्लो समय खुलेका आइपीओमा करिब १५ लाख हाराहारीमा आवेदन दिँदै आएका छन् । कम्पनीको आइपीओमा २४ लाख ९० हजारले आवेदन दिए पनि १० कित्ता सेयर पाउँछन् । सोभन्दा बढीले आवेदन दिए भने मात्र गोलाप्रथाबाट बाँडफाँट गर्नुपर्ने हुन्छ ।