काठमाडौं । सेयर बजार उच्च अंकको वृद्धि भएको छ । आइतबार एकैदिन १११ अंकले बढेर सोमबार १५ अंकको करेक्शन आएको नेप्सेमा आज फेरि ३६ अंकको बढोत्तरी आएको हो ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिमभार र बैंकदर घटाएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले लय समात्न थालेको हो । साथै, बैंकिङ प्रणालीमा अधिक तरलता रहेकै अवस्थामा बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेकाले सकारात्मक प्रभाव परेको हो ।
सूचक उच्च अंकले बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५४ करोड घटेर ४ अर्ब ३० करोडमा सीमित भएको छ ।
सोमबार नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ विन्दुमा पुगेको छ । यस दिन २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । होटल उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
दोहोरो अंकले बढेको बजारमा आज ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), धौलागिरि लघुवित्त, सोनापुर सिमेन्ट र नागरिक मिडियाको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, सानिमा लार्ज क्याप फण्ड, मानुषि लघुवित्त, त्रिशूली जलविद्युत् र दोल्ती पावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् । बढ्दो बजारमा सीवाइसी लघुवित्तका सेयरधनीले भने सर्वाधिक ५.११ प्रतिशत गुमाएका छन् ।