काठमाडौं । भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेका छैनन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआइ)ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनै पनि नेपाली खेलाडी समावेश नगरेकाे हाे ।
यस पटकको अक्सनमा एसोसिएट देशबाट जम्मा दुई खेलाडी अक्सनमा परेका छन् । जसमा नेदरल्यान्ड्सका फास्ट बलर पल भान मिकरेन र नामिबियाका अलराउन्डर डेभिड विसे रहेका छन् ।
संयुक्त अरब इमिरेट्सको दुबईमा डिसेम्बर १९ मा हुने आइपीएल अक्सनमा ११६६ खेलाडीको प्रारम्भिक सूचीबाट कुल ३३३ खेलाडीलाई समावेश गरिएको छ ।
जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन् । यस अक्सनबाट कुल ७७ खेलाडी बिक्री हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ ।
योसँगै नेपाली खेलाडीले आइपीएल खेल्ने प्रतिक्षा थप एक वर्ष लम्बिएको छ । यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो ।
सन्दीप आइपिएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन् । सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहे पनि कुनै टिमले किनेको थिएनन् ।