काठमाडौं । स्वदेशी निजी क्षेत्रले ताप्लेजुङ्ग जिल्लामा निर्माण गर्न लागेको ४९ मेगावाटको अर्धजलाशय (पिकिङ्ग रन अफ रिभर (पीआरओआर) मध्य मेवा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी बिहीबार सम्झौता भएको छ ।
कूल अनुमानित लागत ९ अर्ब २६ करोड रुपैयाँ रहेको मध्य मेवामा स्वदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट ७५ प्रतिशत (६ अर्ब ९४ करोड रुपैयाँ) र स्वपूँजी २५ प्रतिशत (२ अर्ब ३२ करोड रुपैयाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ । यसैगरी आयोजनामा बिजनेस अक्सिजनको प्रत्यक्ष वैदेशिक लगानीको रुपमा समेत स्वपूँजी लगानी हुनेछ ।
सर्वेक्षण अनुमति पत्र प्राप्त भएको तीन वर्षभित्रै प्रवद्र्धक कम्पनीले आयोजनाको सम्पूर्ण अध्ययन, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माणको चरणमा पुर्याएको हो ।
उक्त सम्झौता अनुसार हिमालयन बैंकले लिड बैंकको रुपमा १ अर्ब ५० करोड, नेपाल इनफ्रास्ट्रक्चर बैंकले सह लिड बैंकको रुपमा १ अर्ब ५० करोड र सहभागी बैंकको रुपमा कुमारी बैंकले १ अर्ब २५ करोड, नेपाल एसबीआइ बैंकले १ अर्ब, एनसीसी बैंकले १०० करोड तथा सानिमा बैंकले ६९.५ करोड लगानी गर्नेछन ।
सम्झौतामा कम्पनीका तर्फबाट भानु पोखरेल, हिमालयन बैंकका तर्फबाट शंकर जोशी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट रबिन श्रेष्ठ, कुमारी बैंकका तर्फबाट भुषण तण्डुकार, नेपाल एसबीआई बैंकका विनोद ढुंगेल, एनसीसी बैंकका सुजन श्रेष्ठ र सानिमा बैंकका तर्फबाट सरोज गुरागाईंले हस्ताक्षर गरे ।
आयोजनाको प्रवद्र्धक कम्पनी मेवा डेभलपर्स ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी हो । ऊर्जा डेभलपर्स नेपालमा दीगो जलविद्युत् विकास गर्ने उद्देश्यले प्रतिष्ठित व्यावसायिक घरना सीई ग्रुप, ऊर्जाविद् भानु पोखरेल र ऊर्जा तथा जलनीतिविज्ञ मोहनदास मानन्धरको रणनीतिक साझेदारीमा स्थापित कम्पनी हो ।
कम्पनी स्थापनाको तीन वर्षभित्रै ऊर्जा डेभलपर्सले ग्रुप कम्पनीमार्फत आरम्भ गरेको दुईवटा जलविद्युत् आयोजना माइबेनी (९.५१ मेगावाट) र तल्लो जोगमाई (६.२ मेगावाट) अगामी एक वर्ष भित्र निर्माण सम्पन्न हुनेछ । कम्पनीले एक वर्षको अवधिमा वित्तीय व्यवस्थापन सम्पन्न गरी निर्माण आरम्भ गर्न लागेको यो तेस्रो आयोजना हो ।
आयोजनाबाट स्थानीय वासिन्दासितको सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी माघ महिनादेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए । उनले निर्माण थालनी भएको ४२ महिनाभित्र आयोजना पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए ।