यी हुन् सेयर किन्न जोखिम रहित कम्पनी, नेटवर्थभन्दा सेयर मूल्य कम

काठमाडौं । सेयर बजारमा गरिने लगानीको सामान्य र सहज सैद्धान्तिक अवधारणा भनेको बढि जोखिम र ज्यादा मुनाफा हो । अर्थात्, सेयर बजारमा लगानी गर्दा सामान्यतः अन्य क्षेत्रको वित्तिय लगानीभन्दा जोखिमपूर्ण हुन्छ र सहि समय परेको र चुस्त रणनीति अवलम्बन गरेको खण्डमा मुनाफा पनि अत्याधिक हुने संभावना रहन्छ ।

 

त्यसैले सेयर बजारमा लगानी गर्दा सैद्धान्तिक रुपमा कुनैपनि समय आफ्नो लगानी शुन्यमा झर्न सक्छ भनेर लगानीकर्ताहरु मानसिक रुपमा तयार हुनुपर्ने दिग्गज लगानीकर्ताहरु बताउँछन् । त्यसैगरी, धेरै गुणा सम्पत्ति कमाउने संभावना तर्फ पनि उनीहरु नै संकेत गर्छन् ।

 

नेपाली सेयर बजार अहिले लामो समयदेखि शिथिल बनेको छ । लगानीकर्ताहरुमा कुनै उत्साह र उमंग छैन । कारोबार रकम पनि न्युन छ । सेयर बजारको सूचक पनि महिनौंदेखि स्थिर छ ।

 

तर, रोचक कुरा के छ भने बजार यसरी शिथिल भएको छ कि, यसले भविष्यको लागि अत्यन्तै राम्रो संभावना भएको तर्फ संकेत पनि गरिरहेको छ । नेपाली सेयर बजारले अहिले माथी उल्लेखित जोखिमको सिद्धान्तलाई समेत गलत साबित गरिदिएको स्थिति छ ।

 

नेपालको सेयर बजार अहिले यसरी घटेको छ कि कतिपय सेयरमा सैद्धान्तिक रुपमा कुनै जोखिम नै छैन ।

 

हाल केही कम्पनीहरुको दोस्रो बजारको मूल्य उक्त कम्पनीहरुको नेटवर्थ भन्दा समेत कम भएको अवस्था छ । नेटवर्थ भन्नाले कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्य घटाएर बाँकी रहेको सम्पत्तिलाई कुल सेयर संख्याले भाग गर्दा आउने अंक हो ।

 

सहज भाषामा भन्नुपर्दा, कम्पनी आजै बन्द भएमा सबै तिरोतारो सकेर र बाँकी रहेको सम्पत्ति बेचबिखन गर्दा सेयर धनीको हातमा आउने प्रति सेयर मूल्य हो ।

बैंक तथा वित्तिय क्षेत्रको कुरागर्दा हाल कामना सेवा विकास बैंक, रिलायन्स फाइनान्स, गुडविल फाइनान्स, मञ्जश्री फाइनान्स र गुर्खाज फाइनान्सको दोस्रो बजारको सेयर मूल्य यी कम्पनीको नेटर्वथभन्दा कम छन् । अर्थात् कम्पनीको सेयर किनेको भोलिपल्टै यदि यी कम्पनी बन्द भएपनि सबै बेचबिखन र तिरोतारो गरेर बचेको पैसा सेयरधनीहरु माझ भाग लगाउँदा समेत अहिले सेयर किन्ने सेयरधनीहरु फाइदामा जाने अवस्था छ । यसको मतलव यी कम्पनीमा जोखिम शुन्य छ ।

 

यसैगरी, साँग्रीला विकास बैंक, एक्सेल विकास बैंक, सिभिल बैंक, आइसीएफसी फाइनान्स, लुम्बिनी विकास बैंक र देव विकास बैंकको नेट वर्थ र दोस्रो बजारको मूल्यबीच धेरै फरक छैन । यी कम्पनीमा हाल गरिने लगानीको पनि जोखिम अत्यन्तै न्युन छ ।

 

समग्रमाभन्दा अहिले सेयर बजार यसरी घटेको छ की यसले बजारको अन्र्तनिहित जोखिमको सिद्धान्तलाई समेत चुनौति दिएको छ । यद्यपी यस्तोे अवसरका बावजुद लगानीकर्तामा लगानी बढाउने आत्मबिश्वास भने पलाउन सकेको छैन ।

ग्लोबल र जनता बैंकलाई मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति Read Previous

ग्लोबल र जनता बैंकलाई मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति

मध्य मेवामा ९ अर्ब २६ करोड लगानी सम्झौता, ६ बैंकको लगानी Read Next

मध्य मेवामा ९ अर्ब २६ करोड लगानी सम्झौता, ६ बैंकको लगानी