अर्बौं विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय गम्भीर संकटमा

झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् ।

बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सीटीसी चिया निर्यातबाट करिब ८ अर्ब रुपैयाँको विदेशी मुद्रा भित्रिने आकलन गरेको बताए । उनले भने, ‘सरकारले समयमै चियालाई चाहिने मलसहितका कार्यक्रम उपलब्ध गराएको छ । यसले उत्पादन पनि बढ्ने अनुमान छ । उत्पादन बढेसँगै निर्यात बढी स्वतः भइहाल्छ ।’

चिया क्षेत्रका विद्यमान समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने र सरोकारवालाले उठाएका सबैखाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई समेत समस्याको जानकारी गराउने उनले बताए । गत वर्ष चिया निर्यातबाट मात्र नेपालमा रु ३ अर्ब ८० करोड रकम भित्रिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।

चिया किसान हर्क तामाङले बोर्डले गरेजस्तो आकलनले काम नगर्ने बताउनुभयो । उहाँले बोर्डले कोठामा बसेर तथ्याङ्क तयार गर्ने, किसानका बगानसम्म पुगेर मूल्याङ्कन नगर्ने हुँदा यस्तो लक्ष्य लिनु स्वभाविक भएको बताए। ‘बोर्ड अलैँचीपछि विदेशी मुद्रा ल्याउने चिया भन्छ,’ उनले भने, ‘तर यही अवस्था रहने हो पाँच वर्षपछि चियाको बुट्टा भेट्न पनि गाह्रो होलाजस्तो छ ।’

सरकारले चियालाई कृषिको रूपमा सूचीकृत नगरेर उद्योगसरह विद्युतीय महसुल लगाउँदा सिँचाइमा समस्या, अक्सन बजारको अभावले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसक्नु मुख्य कारण रहेको उनको भनाइ छ ।

अखिल नेपाल ट्रेड युनियन केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाले चिया विकासको निम्ति बोर्डले अहिलेसम्म केही काम गर्न नसकेको आरोप लगाए। उनले उद्योगी, व्यवसायी, किसान, मजदुर कसैको समस्या समाधानमा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए ।

नेपालमा २० हजार २३७ हेक्टरमा चियाखेती लगाइएको बोर्डले जनाएको छ । त्यसमध्ये ९९ प्रतिशत उत्पादन कोशी प्रदेशमा भइरहेको छ । सत्तरी हजार नागरिकले रोजगारी पाइरहेको चियाका ३० वटा अर्थोडक्स र ३८ वटा सिटीसीका उद्योग सञ्चालित छन् । नेपाली चियाको मुख्य बजार भारत, चीन, श्रीलङ्का, रसिया, नेदरल्याण्डलगायतका राष्ट्रमा रहेको बोर्डको तथ्याङ्कले देखाएको छ ।

एनआइसी एशियाले फेरि घटायो ब्याजदर Read Previous

एनआइसी एशियाले फेरि घटायो ब्याजदर

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन