डलर विनिमयमा निरन्तर अवमूल्यन नेपाली मुद्रा, अर्थतन्त्रलाई फाइदा कि घाटा ?

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर अवमूल्यन हुँदै गएको छ । विश्वभर डलरको माग उच्च हुँदा यसको मूल्य बढ्दै गइरहेको छ । डलरको मूल्यमा आइरहेको उतारचढावले विनिमयदरमा नेपाली मुद्रा कमजोर हुँदै गएको हो ।

नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमयदर छ । डलर बलियो हुँदा त्यसको असर भारुमा पर्छ । डलरसँगको भारतीय मुद्राको विनिमयदरमा आउने फेरबदलले नेपाली मुद्रालाई पनि कमजोर बनाउने गरेको हो ।
डलरको भाउ लगातार वृद्धि हुँदा भारतीय मुद्रा कमजोर हुन्छ । त्यसको असर नेपाली मुद्रामा प्रत्यक्ष रुपमा पर्ने गरेको छ ।

पछिल्लो समय विश्वभर अमेरिकी डलरको मूल्यमा भइरहेको उतारचढावले नेपाली मुद्रासँगको खरिद तथा बिक्री दरमा नयाँ रेकर्ड बन्दै गएको छ । डलरको माग उच्च हुँदा यसको खरिद तथा बिक्री मूल्य पनि उच्च हुन्छ भने माग घट्दा भाउ घट्छ । अन्तर्राष्ट्रिय परिस्थितिमा आउने उतारचढाव लगायतका कारण विश्वभर डलरको माग उच्च हुन्छ ।

रुस-युक्रेन युद्ध्, इजराइल र प्लेस्टाइनबीच जारी द्धन्द्ध लगायतका कारण विश्व बजारमा अमेरिकी मुद्राको माग बढ्ने गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा असोजमा अमेरिकी डलरसँग नेपाली मुद्राको १.३४ प्रतिशतले अवमूल्यन भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.०१ प्रतिशतले अवमूल्यन भएको थियो । गत असारमा अमेरिकी डलर एकको खरिद विनिमयदर १३१.१७ रुपैयाँ रहेको थियो । पछिल्ला महिनाहरुमा यो क्रम दिनप्रतिदिन झन् बढ्दै गइरहेको छ । मंसिर मध्यसम्म आउँदा अमेरिकी डलरसँगको नेपाली मुद्राको खरिद तथा ब्रिकीदर १३३.७२ रुपैयाँ पुगेको छ ।

आयात र उपभोगमा आधारित अर्थतन्त्र भएकाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको फेरबदल नेपालको आन्तरिक अर्थतन्त्रमा समेत देखिने गरेको छ । डलरको मूल्य उच्च हुँदा व्यापार घाटामा नेपालबाट बाहिरीने रकम धेरै हुन्छन् । जसले अर्थतन्त्रको भुक्तानी सन्तुलन र डलर संचितिमा दबाब पर्ने गरेको छ । यसका साथै डलरको मूल्य वृद्धि हुँदा नेपालको अर्थतन्त्रको लागि केही फाइदा पनि रहेको अर्थशास्त्रीहरु बताउँछन् ।

नेपाली मुद्राको अवमूल्यन शृंखला

डलरसँगको खरिद तथा बिक्रीदरमा नेपाली मुद्राको अवमूल्यनको क्रम बढ्दो छ । डलर महंगो हुँदै जाँदा नेपाली मुद्रा भने कमजोर हुँदै गएको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो सात वर्षमा नेपाली मुद्रासँग डलरको खरिद तथा बिक्रदर १०४ रुपैयाँबाट १३३ रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा अमेरिकी एक डलरसँग नेपाली मुद्राको विनिमयदर १०४ रुपैयाँ ३७ पैसा रहेकोमा एकै वर्ष २०७५/७६ मा ११२ रुपैयाँ ८८ पैसा पुगेको थियो । २०७६/७७ मा डलरसँग नेपाली मुद्राको विनिमयदर ११६.६ रुपैयाँ, २०७७/७८ मा ११७.८७ रुपैयाँ पुगेको छ ।

२०७८/७९ मा १२०.८४ रुपैयाँ, २०७८/८० मा १३०.७५ रुपैयाँ डलरसँग नेपाली मुद्राको विनिमयदर कायम भएको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म भने १३३ रुपैयाँ डलरको मूल्य पुगिसकेको छ ।

डलर आर्जनका स्रोतमा फाइदा

नेपालको अर्थतन्त्रको २२ प्रतिशतभन्दा धेरै हिस्सा रेमिट्यान्सले धानेको छ । डलरको मूल्यवृद्धि हुँदा रेमिट्यान्स बढ्छ । यसले अर्थतन्त्रमा सकारात्मक असर पार्ने अर्थशास्त्रीहरु बताउँछन् । त्यसैगरी, विदेशी पर्यटकहरुको आवागमनले पनि डलरको मूल्यवृद्धि हुँदा नेपाल भित्रिने रकममा बढोत्तरी आउँछ ।

डलर आर्जनको मुख्य स्रोत यी स्रोतहरुमा केही फाइदा देखिए पनि मुलत अर्थतन्त्रको अहिलेको अवस्थामा घाटा धेरै रहेको अर्थशास्त्रीहरुको विश्लेषण छ । विदेशी अनुदान, वस्तुको निर्यात लगायतमा क्षेत्रहरुबाट पनि डलरको मूल्य बढ्दा नेपाललाई फाइदा हुनेगरेको छ ।

प्राधिकरणलाई एनसेलको जवाफः  ‘शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ’ Read Previous

प्राधिकरणलाई एनसेलको जवाफः  ‘शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ’

एक सातापछि पूँजी बजारमा करेक्सन्, बढ्यो नेप्से परिसूचक Read Next

एक सातापछि पूँजी बजारमा करेक्सन्, बढ्यो नेप्से परिसूचक